नामिबियाविरुद्ध नेपालकाे जित, तीन खेलाडीको अर्धशतक

काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले जित हात पारेको छ ।

नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ३ विकेट बाँकी हुँदा पूरा गरेको हो ।

नेपालको जितमा ब्याटिङतर्फ आसिफ सेख र कुशल मल्ल तथा बलिङतर्फ सन्दीप लामिछानेले मुख्य भूमिका निभाए ।

टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन बनाएकाे थियाे ।

नेपालका तीन खेलाडीले अर्धशतक बनाए । नेपालका लागि आशिफ सेखले सर्वाधिक ८१ रन, ज्ञानेन्द्र मल्लले ६५ रन, कुशल मल्लले ६२ रन र राेहित पाैडेलले ३९ रन बनाए ।

नामिबियाका लागि जेन ग्रिनले नटआउट ७५ रन जोडे । उनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरे। ये फ्रान्सले ४९ रन जोड्दा ओपनर लो लाउरेन्सले ४१ रन जोडे।

बलिङमा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । उनले १० ओभरमा ४६ रन खर्चिए ।

सिरिजमा यसअघि नेपालले लगातार दुई खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा नामिबिया तथा दोस्रो खेलमा स्कटल्यान्डलाई हराएको थियो।

नेपालले मंगलबार अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नेछ।

लिग-२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ । लिग-२ को शीर्ष टिम स्कटल्यान्डले ३४ खेलबाट ४८ अंक जोडेको छ । दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ ।

तेस्रो स्थानको नामिबियाले अन्तिम चार खेल बाँकी छदा ३७ अंक जोडेको छ । चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ । यो अवस्थामा अब स्कटल्यान्डले बाँकी सबै खेल हारे पनि शीर्ष स्थान गुमाउने छैन ।

लिग-२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग-२ मा आफ्ना १० खेल खेल्न बाँकी हुँदा २७ खेलबाट २४ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ ।