स्कटल्यान्डले नामिबियालाई दियो २२२ रनको लक्ष्य

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपालमा जारी त्रिदेशीय सिरिजमा स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४८.४ ओभरमा सबै विकेटको क्षतिमा २२१ रन बनाएपछि नामिबियाले मध्यम लक्ष्य पाएको हो ।

स्कटल्यान्डका क्रिस्टफर म्याकब्राइडले ४७, टोमस म्याकिनटोसले ३४, कप्तान रिची बेरिङटनले ३२, माइकल लिस्कले २९ र लियाम नाइलरले २० रन बनाए ।

बलिङतर्फ नामिबियाका रुबेन ट्रम्पलम्यानले पाँच विकेट लिए । उनले ९.४ ओभरमा ३० रन खर्चिएर पाँच विकेट लिएका हुन् । तंगेनी लुंगामेनीले दुई विकेट लिए ।

यो सिरिजमा नामिबियाको स्कटल्यान्डसँग अन्तिम खेल हो । यसअघि नामिबिया पहिलो खेलमा नेपालसँग दुई विकेटले हारेको थियो । त्यसपछि स्कटल्यान्डसँग १० विकेटले पराजित भएको नामिबिया तेस्रो खेलमा नेपालसँग फेरि तीन विकेटले पराजित भएको थियो ।