दल विशेषको राष्ट्रपति बनाउने कुरा संविधान विपरित छ : देव गुरुङ

काठमाडाैं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दल बिशेषको राष्ट्रपति बनाउने कुरा संविधान विपरित भएको टिप्पणी गरेका छन् ।

सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले पार्टी विशेषको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा संविधानमा नै नरहेको बताएका हुन् । उनले एमाले पार्टी विशेषलाई राष्ट्रपति दिने भन्ने कुरा पनि संविधान विपरित नै रहेको जिकिर गरे ।

राष्ट्रपतिका लागि कुनै दलले प्रस्ताव राख्ने कुरा स्वभाविक भए पनि कुनै दल विशेषलाई नै राष्ट्रपति बनाउने भन्ने बिषय फरक रहेको उनले बताए । गुरुङले राष्ट्रपति संविधानको संरक्षक भएकाले साझा व्यक्तिका रुपमा उक्त संस्थामा प्रवेश गर्नुपर्ने धारणा राखे । उनले राष्ट्रपति गठबन्धनसँग जोडिएको बिषय नभएको समेत बताए ।

यसअघि भएको कटुवाल प्रकरण, संसद विघटन प्रकरण, सरकारको सिफारिस कार्यान्वयन नभएको विषयलगायतलाई हेर्दा राष्ट्रिय सहमतिका आधारमा दलबाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने उनले बताए ।