काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपतिमा प्रस्तावित रामचन्द्र पौडेलले आफूमाथि संविधानको रक्षा र जनताको अधिकार संरक्षण गर्ने चुनौति आउन लागेको बताएका छन् ।
पौडेलले नेपालको संविधानको भावना र मर्म अँगालेर लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्न संविधानको रक्षकको हैसियतले आफू लागिपर्ने बताए ।
‘मैले प्रथम चरणमा एउटा प्रेरणा पाएको छु कांग्रेसबाट । अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने रक्षा गर्ने चुनौति मलाई आउन लागेको छ,’ उनले भने ।
नेपाली कांग्रेसले मात्र नभएर सबै पार्टीले आफूमाथि सद्भाव र सहानुभूति राखेको पौडेलले बताए । ‘नेपालको राजनीतिक जगतले ममाथि अपार सहानुभूति र सद्भाव राखेको छ । सबै पार्टीका सबै साथीहरुको अपार स्नेह र माया पाएको छु,’ उनले भने ।
शनिबार बिहान बसेकाे कांग्रेस कार्यसम्पादन समितिकाे बैठकले राष्ट्रपतिमा रामचन्द्र पाैडेललाई उठाउने निर्णय गरेकाे हाे ।