कुवेतमाथि नेपालकाे विशाल जित

काठमाडाैं । नेपालले आइसिसी यू-१९ एसिया कप छनोटमा कुवेतमाथि २ सय ४३ रनको विशाल जित हात पारेको छ । लगातार दोस्रो जितपछि नेपालले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितको लागि ३ सय ४४ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १ सय रनमा अल आउट भयो । कुवेतका ओपनर जुडे क्रिस्टोफर साल्दानाले सर्वाधिक २६ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको थियो ।

नेपाललाई विशाल योगफलमा पुर्‍याउन देव खनाल र अर्जुन कुमालले उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक एकै इनिङमा दुई ब्याटरले शतक हानेर कीर्तिमान रचेका छन् ।

नेपालको जितमा कप्तान देव खनालले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

अब नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ (मार्च २) मा खेल्नेछ । यू-१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।