काठमाडाैं । बुधबारका लागि तय भएकाे प्रतिनिधि सभा बैठक स्थगित भएको छ । संघीय संसद सचिवाललयले विशेष कारणले बैठक बस्न नसक्ने जनाएर सूचना जारी गरेकाे छ ।
सूचनामा विशेष कारण भनिए पनि नेपाली कांग्रेस र नेकपा (एमाले) दुबैले आफू प्रमुख विपक्षी दल भएको दाबी गरेपछि आजको बैठक स्थगित भएकाे हाे ।
सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले आफूहरू स्वाभाविक प्रमुख प्रतिपक्षी रहेको एमालेको तर्क छ ।
नेपाली कांग्रेसले आफूहरू सरकारमा नजाँदासम्म विपक्षमै बस्ने दाबी गरेको छ ।
गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । विश्वसको मत दिए पनि संसद सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिइसकेको छ ।
सरकारमा रहेको एमालेले आफ्ना मन्त्रीलाई सोमबार फिर्ता बोलाइसकेको छ भने प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
अर्को बैठक चैत ५ गते बस्ने संसद सचिवालयले जनाएको छ ।