विप्लवकाे धम्की : माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दाेहाेरिन्छ

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिएका छन् ।

जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै चन्दले यदी माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्‍याउने बताए ।

उनले भने, ‘अहिले माओवादीलाई अपराधी बनाउन खोजिँदै छ । बेपत्तालाई अपराधी बनाउन खोजिँदै छ । असम्भव छ ।’ अगाडी उनले भने, ‘माओवादीलाई अपराधीकरण बनाउन खोजियो भने इतिहास दोहोरिन्छ । इतिहास दोहोर्‍याउन सकिन्छ । यो कुरा सबैले हेक्का राख्नुपर्छ ।’

उनले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउन तागत भएकाे पनि बताए । चन्दले भने, ‘नेपालमा को हो हत्यारो ? अढाई सय वर्ष नेपाली जनतालाई टाउकोदेखि खुट्टासम्म लुटेर चुसेर अर्बौ सम्पत्ति थुपार्ने सामन्त फटाहहरु अपराधी हुन कि आफ्नो अधिकारको लागि मर्न तयार हुने विद्रोह गर्ने जनता अपराधी हो ? को हो अपराधी ?’

बाबु बाजेदेखि सम्पत्ति थुपारेर जनसम्पत्ति मुठि्ठभर मान्छेहरूले मोज मस्ती गरेर नेपाली जनतालाई पैसाको रवाफ दिने भन्दै चन्दले आक्रोश पोखे । उनले भने, ‘हामी अपराधी होइनौँ । अपराधी भनेर जुन व्याख्या गर्न खोजिँदै छ । यदि ती मान्छे जनयुद्धमा भेटिएको भए त्यहीँ सिद्धिने थिए ।’