मुस्ताङ । केही दिन यता सामाजिक सञ्जालमा मुस्ताङमा धार्मिक विश्व विद्यालय खोल्ने विषयले व्यापक चर्चा भइरहेकाे छ । गत साता बिहीबार मुलधारकाे एक पत्रिकामा ‘मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारत अग्रसर’ शीर्षकमा समाचार प्रकाशित भएपछि यो विषय सतहमा चुलिएको हो ।
पत्रिकाले मुस्ताङको निषेधित क्षेत्र र चीनविरुद्ध तिब्बती खम्पाहरुको खेल्ने अखडा रहेको स्थानमा बौद्ध कलेज स्थापना गरिनु एक चीन नीतिप्रति प्रतिबद्ध नभएको आशयको समाचार प्रकाशित गरेको थियो ।
वारागुङ मुक्तिक्षेत्रले कलेज खोल्ने स्थान निषेधित क्षेत्र भित्र नपर्ने र खम्पाहरुको आधार क्षेत्र नरहेको विज्ञप्तिमार्फत् जानकारी गराइसकेकाे छ ।
शुक्रबार नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली राजधानीको एक कार्यक्रममा मुस्ताङमा विश्व विद्यालय खोल्ने कुरा राष्ट्रका लागि घातक भएको अभिव्यक्ति दिए ।
पत्रिकामा प्रकाशित समाचार र एमाले अध्यक्ष ओलीको अभिव्यक्तिलाई लिएर मुस्ताङबाट निर्वाचित प्रदेश सभा सदस्य नम्डु गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत् आपत्ति जनाएका छन् । सांसद गुरुङले भनेका छन् ‘मुस्ताङमा धार्मिक विश्व विद्यालय खोल्ने कुरा के देश द्रोही हो ?, के हाम्रो ठाउँको विकास हुँदा देश संकटमा पर्छ ?’
उनले उक्त समाचार र एमाले अध्यक्षको धारणा के जायज छ ? भनी प्रश्न गरेका छन् । ‘हामी संख्यामा थोरै भए पनि हामीलाई पनि आफ्नो देशको माया उत्तिकै लाग्ने सांसद गुरुङको भनाइ छ । किन स्थान र धर्मलाई तोकेर यहाँ राजनीति गरिँदै छ ? अब मुस्ताङीले आँखा खोल्न जरुरी छ ।’