राष्ट्रपति निर्वाचनकाे तयारी पूरा, भाेलि साँझ नै मत परिणाम आउने

काठमाडौं । राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ ।

साँझ ७ बजे मत परिणाम घोषणा गर्ने तयारी भइरहेकाे निर्वाचन अधिकृत महेश शर्माले जनाएका छन् । ४ बजेबाट मत गणना सुरु हुने उनले बताए ।

बानेश्वरस्थित संसद भवन परिसरमा दुईवटा मतदान केन्द्र बनाइएको छ । संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यहरुलाई अर्को मतदान केन्द्र बनाइएको हो ।

शर्माका अनुसार ३ बजेसम्म लाइनमा बसेका मतदाताहरुले मतदान गर्न पाउनेछन् । मतदान केन्द्रभित्र मोबाइल लैजान पाइने छैन । यदि कसैले मोबाइल लगे निर्वाचन कसूर हुनेछ ।