प्रचण्डले अदालतबाट उन्मुक्ति पनि पाउन सक्छन् (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले अदालतमा रिट पर्दैमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादी घटकहरु आत्तिन नपर्ने बताएका छन् ।

हुलाक सञ्चाचरसँग कुरा गर्दै नेता घिमिरेले शान्ति प्रक्रियाको विषय राजनीतिक भएको र यसको समाधान सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोगबाटै हुनुपर्ने भए पनि अदालतमा मुद्दा परेको विषयलाई पनि स्वभाविकरुपमा लिनुपर्ने बताए ।

द्वन्द्वपीडितहरुको न्यायको विषयमा अदालतले आफनो राय दिइसकेकाले रिट नै दर्ता गराउन मिल्दैन भनेर तर्क गर्न नहुने उनको भनाइ छ । अदालतले शान्ति प्रक्रियाको गाम्भीर्यता बुझेकाले यसको टुंगो लगाउने जिम्मेवारी सरकार र राजनीतिक दलहरुलाई दिने सम्भावना रहेको उनी बताउँछन् ।

घिमिरे भन्छन्, ‘अहिले जसरी माओवादी घटकहरु षडयन्त्र भयो, शान्ति प्रक्रिया भंग गर्न खोज्यो भनेर प्रतिवाद गरिरहनु भएको छ, त्यति आशंका गर्ने अवस्था पनि छैन । अदालतले प्रचण्डलाई उन्मुक्ति पनि दिनसक्छ । प्रचण्ड जेल पर्नेसम्मको अवस्था आउँछ जस्तो लाग्दैन ।’

नेता घिमिरेका अनुसार मुलुकको शान्ति प्रक्रिया टुंग्याउन दलहरुले ढिलो गरेकाले नै आजको यो परिणाम देख्नु परेको हो । शान्ति प्रक्रिया टुंग्याउन सबैभन्दा बढी माओवादी केन्द्र नै सक्रिय हुनुपर्ने हो तर भएन । शान्ति प्रक्रियालाई देखाएर राजनीतिक लाभ मात्र लिन थाले । अहिले फेरि कांग्रेससहित ९ दलको प्रतिबद्धता आएको छ, यसलाई छिटो भन्दा छिटो टुंग्याएर अघि बढ्नुपर्छ । शान्ति प्रक्रिया बल्झिए मुलुक बहुआयामिक द्वन्द्वमा फस्न सक्छ ।

माओवादीसहित कम्युनिष्टहरुले कुनै पनि विषयमा साम्राज्यवादी र विस्तारवादी भन्दै विदेशीहरुलाई दोष लगाउने गरेका छन् । अहिले संसारमा कोही पनि साम्राज्यवादी र विस्तारवादी छैन । आफ्नो मुख बन्द गरेर काममा मात्र ध्यान दिने हो भने कसैलाई दोष लगाउन पर्दैन ।

एमाले अध्यक्ष केपी शर्मा ओली सर्वज्ञानी जस्तो उपदेश मात्र दिएर बस्छन् । प्रचण्ड आज आफ्नै बोलीको चक्रव्यूहमा फसेका छन् । सबैभन्दा पहिला त यिनीहरुले बोल्न छाड्नुर्छ । काम गरेर जवाफ दिन सक्नुपर्छ ।

राष्ट्रपति निर्वाचनपछि पनि कांग्रेस नेतृत्वको ८ दलीय गठवन्धन निरन्तर रहने घिमिरेको दाबी छ । केही काल गठबन्धन गर्नैपर्ने बाध्यता भए पनि आउँदो चुनावमा सबै दलहरु आ–आफनो बाटो लाग्नुपर्ने घिमिरेको भनाइ छ ।

‘अब एक्लाएक्लै चुनाव लड्नुपर्छ । शतप्रतिशत प्रत्यक्ष निर्वाचन प्रणालीमै जानुपर्छ । राष्ट्रियसभामा समानुपातिक प्रणाली अवलम्बन गर्न सकिन्छ । दलहरुले जनताको मन जितेर काम गरे एकल बहुमत नआउने भन्ने कुरा हुँदैन, मज्जाले आउँछ’ घिमिरे भन्छन् ।

विस्तृत भिडिओमा :