काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहेको निर्णय गरेको छ ।
निर्वाचन आयोगले यादवको उम्मेदवार खारेज गर्न नपर्ने निर्णय गरेको हो ।
नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले राष्ट्रपतिभन्दा फरक लिङ्गको उम्मेदवार हुनुपर्ने भन्दै यादवको उम्मेदवारी खारेजीको माग गरेका थिए ।
संविधान अनुसार फरक लिंग वा समुदायको हुने प्रचलन देखिएकाले उपराष्ट्रपतिमा फरक समुदायका उम्मेदवार यादवको उम्मेदवारी खारेज गर्नु नगर्ने आयोगले निष्कर्ष निकालेको हो ।
निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी पनि कायम रहने बताए ।
उपराष्ट्रपतिमा कुल ४ जनाको उम्मेदवारी परेको थियो ।
राष्ट्रपति खस आर्यतर्फको हुँदा उपराष्ट्रपतिमा यादव फरक समुदायको हुनसक्ने भएपनि खारेज हुनसक्ने भयले जसपाले प्रमिला यादवलाई पनि अघि सारेको थियो । यादवको उम्मेदवार कायम भएपछि प्रमिलाको उम्मेदवारी फिर्ता लिने सम्भावना छ ।
तर, गठबन्धनबाट जनमत पार्टीकी ममत झाले पनि उम्मेदवारी दिएका छन् । सहमति नभए उनी मित्रवत् प्रतिस्पर्धा गर्ने तयारीमा रहेको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बताइसकेका छन् ।