युद्दकालीन त्यो कहालीलाग्दो घटना

२०६० साल भदौ ३१ गते । भालेको डाँकोसँगै पारी डाँडामा घामको झुल्को देखियो । हाम्री आमालाई बिहान–बिहानै उठ्नै पर्ने बाध्यता थियो, किनकी उनी थिइन् हाम्रो सबै चार जना परिवारको पालनपोषणकर्ता । घरको चुलो चौकोको सबै जिम्मेवारी उनको काँधमा थियो । त्यो दिन पनि आमा बिहानै उठेर घरमा लिपपोत गर्दै हुनुहुन्थ्यो । हामी दुई दाजुभाई र बा एकै कोठामा थियौँ । घर सफा गरेर धारामा पानी लिन जाने बेलामा आमाले हामीलाई बोलाएर भन्नुभयो, ‘ल म पानी लिन गएँ है, उता पसलतिर पनि हेर्नू ।’ ल…ल… भनेर हामी सुतिरहेका थियौँ ।

केहीबेरमा हस्याङ र फस्याङ गरी धाराबाट गाग्रीमा पानी लिएर आमा फर्किनुभयो । तर उहाँको अनुहारमा डर देखिएको थियो । आमाले कहालीलाग्दो स्वरमा हामीलाई उठाउनुभयो । रातो पिरो अनुहार लगाएर आमा बोल्न खोजिरहनुभएको थियो, तल… त…ल मैले उहाँलाई सोधेँ के तल आमा ?

उहाँले अलि मधुर स्वरमा भन्नुभयो, ‘धारामा माओवादी छन्, ३ जना माओवादीहरुले हातमा बन्दुक लिएर बसेका छन्, लौ आज के हुने हो कुन्नि ?’ उनीहरुले मलाई भनेका छन् ‘हेर्नुस् हामी यहाँ छौँ भनेर कसैलाई भन्नुभयो भने तपाईँको सबै परिवारलाई मार्दिन्छौँ पानी त भरेर जानुस् तर याद राख्नुस् यदी यो बारेमा कसैलाई भन्नुभयो भने तपाईँको सबै परिवार सखाप ।’ आमाको त होस् हवास् नै उडेछ । आमाले मात्र ‘हुन्छ’ भनेर धुन लगेको लुगा पनि फर्काएर ल्याउनुभएछ ।

माओवादी त्यहाँ त्यसरी आउनुको कारण थियो, त्यो धाराभन्दा केही तल रहेको सरस्वती मन्दिरमा सैनिक चेक पोस्ट थियो । बिहान ८ बजेतिरमात्र सैनिकहरु त्यहाँ आउने गर्थे । तसर्थ, उक्त पोस्टमा आक्रमण गर्ने उद्देश्यका साथ केही माओवादीहरु त्यो धारामा बिहानैबाट आएर बसेका रहेछन्, हामी सबै परिवार आत्तिन थाल्यौँ । अब के हुने हो ? अब के हुने हो ? भन्ने अन्योलतामा हामी बसिरहेका थियौँ । बाबाले पसलतिरको ढोका र हामी सुतेको कोठाको ढोका लगाउनुभयो । हामी डराएर बसिरहेका थियौँ । केहीबेरमा गोली पड्केको आवाज आयो डुम्म..डुम्म… ।

लेखक : साेम शर्मा

आमा बर्बराउन थाल्नुभो, लौ कसलाई हाने गोली, मारे आज । तल चेकपोस्टमा आउने केही आर्मीहरु हाम्रो पसलमा खाजा खान पनि आउने हुनाले केही आर्मीहरुसँग हाम्रो चिनजान थियो । हामीलाई डर थियो कतै ती आर्मीहरु त परेनन् । हामी एकदम आत्तियौँ । हामी सबै त्यही कोठामा कुक्रुक्क भएर बसेका थियौँ, गोली पड्केको केही मिनेटमा हामी बसेको कोठाको ढोका ढक–ढक गरेको आवाज आयो । हाम्रो मुटुको धड्कन बढीरहेको थियो झन् त्यो ढक–ढकले अति नै मुटु फुल्न थाल्यो ।

‘ढोका खोल्नुस्’ बाहिरबाट आवाज आयो । ‘छिटो ढोका खोल्नुस्’ बाबाले बिस्तारै गएर ढोका खोल्नुभयो । हामी सबै डरले थरथर कापिँरहेका थियौँ । म महसुस गर्न सक्थेँ कि त्यो बेलामा बाको हात कति काँपेको थियो । ढोका खोल्नासाथ बाहिर मुखभरी र्याल चुहाएर, रातो र पिरो भएका मुखमा केही कालो दलेका कम्ब्याट कपडा र हातमा बन्दुक तेर्साएर आएका आर्मीले झन् थर्काउन थाले, किन ढोका खोल्न ढिला हँ, के गरेर बसेको हो हँ ? बाले भन्नुभयो, ‘हैन सुतेर उठ्दै थियौँ, कपडा लगाउन लागेकोले बेर भएको हो, उताबाट झन जर्किँदो स्वर आउन थाल्यो, ‘ए तिमीहरुलाई यत्रो ठूलो बम पड्किँदा पनि निद्रा लाग्यो हैन ।’ पख तिमीहरुलाई भन्दै सबैलाई बाहिर बोलायो । हामी सबै बाहिर निस्कियौँ ।

बिचरा…बाले पाइन्ट पनि लगाउनु पाउनु भएको थिएन । त्यो बेलामा हामी रुन पनि सकेका थिएनौँ । रुँदा पनि गाली गर्छन् कि भन्ने डर लागिरहेको थियो । हामी मात्र सुक्क–सुक्क मात्र गरिरह्यौँ । बाआमालाई त्यसरी थर्काइरहँदा हामी चुपचाप थियौँ । सबैजना बाहिर निस्केपछि त्यो कोठाको र उता पसलतिरको कोठाको चाबी लगाएर त्यहाँको साँचो आर्मीले राख्यो । बाआमालाई प्रश्न गरिरहे उनीहरुले ।

तिमीहरुले यत्रो बम पड्काएको पनि नसुन्ने हैन ? भन तिमीहरुले कतिजना माओवादी पालेर बसेका छौ ? हिजो कहाँ सुतायौ ? कति जना थिए ? कति जनालाई खाना खुवायौ ? माओवादी पाल्ने अनि अहिले थाहा पाइन भन्ने ? उनीहरुले अपशब्द बोल्दै एकतमासले गाली गरिरहे बाआमालाई । हामी दुई भाई सुन्न बाहेक केही गर्न सकेनौँ । कतिबेला त सानो भएपनि उनिहरुको त्यो चरित्र देख्दा लाग्थ्यो कि त्यही उनीहरुले समातेको बन्दुक खोसेर उनीहरुलाई नै हानिदिउँ । तर त्यो गर्ने साहस जुटाउन सकिनँ । भाइ सानै थियो उ मेरै अगाडि बसेर दाइ दाइ भन्दै रुन्थ्यो मात्र । म आफैँ भयभीत थिएँ । उसलाई सम्झाउन पनि सकिनँ ।

आर्मीहरुले बाआमालाई सोधिरहेका थिए, माओवादीहरु कहाँ राखिस् ? त्यो बन्दुक पड्काएर कता भागे ? बाआमाले पटक–पटक भनिरहनुभएको थियो, खै हामीलाई केही थाहा छैन । बिचरा हाम्रा बाआमा चपेटामा थिए, बिहानको सत्य कुरा भनिदिए उता माओवादी आएर मार्छन कि भन्ने पिर र यता फेरि आर्मीहरुले हिँड तिनीहरुलाई देखाउ भनिरहेका छन् । कहाँबाट देखाउने ? उहाँहरुले खै हामीले त कतिबेला पनि देखेनौँ, हामीलाई केही पनि थाहा छैन, कहाँबाट आए ? कहाँ बसे ? अनि कहाँ गए ? केही थाहा छैन ? उनीहरुलाई त्यतिले चित्त बुझेन र एउटा मेजरले बाको छातीमा बन्दुक तेर्साएर भन्न थाल्यो । साँचो भन् तैँले देखेको छस् कि छैन ?, त्यो बेलामा आमा बेजोडले रुन थाल्नुभयो । हामी आमालाई समातेर रोइरह्यौँ । उनीहरु हामीलाई रुन पनि दिदैनथे । उनीहरु किन रोएको चुप लाग् भनेर थर्काइरहन्थे ।

बाले हामीलाई मार्ने भए मार्नुस् तर हामीलाई केही पनि थाहा छैन भनेपछि आर्मीले छातीबाट बन्दुक हटायो । उनीहरु एकछिन यहीँ बस भनेर माथि गाउँतिर उक्लिए । हाम्रो घरमाथि विजय मामाको घर थियो । उनीहरु त्यहाँ पुगे । त्यहाँ गएर पनि त्यहाँको टिन ठटाउँदै, बन्दुक तेर्साउँदै थर्काइरहेका थिए, त्यो मामालाई त अझ लात्ताले हान्दै झपारिरहेको थियो । गाउँमा वितण्डा मच्चाएर त्यो आर्मीको फौज पुनः हाम्रो घरमा फर्कियो । फर्किँदा आमाले धारामाथि राखेको लुगाको बाटामा उनीहरुको आँखा परेछ । त्यसपछि घरमा आएर उनीहरु सोध्न थालिहाले त्यो कपडा राखेको बाटा कसको हो ? आमाले हाम्रो भएको जानकारी गराएपश्चात् उनीहरु झन् कड्किन थाले । एक आर्मीले आमापट्टि बन्दुक तेर्साएर सोध्न थाल्यो, ‘तैँले बिहान कपडा धुन जाँदा त्यहाँ बसेका माओवादी देखिनस् हैन ? अब थाहा भयो, तैँले माओवादी पालेर राखेकी रैछेस्, ए… केटाहो जा यो घर सबै खोजेर हेर कता–कता बन्दुक लुकाएर राखेका छन् कि ?, अरु के–के छन् ?, त्यो हुलका केही आर्मीहरु घरभित्र पसे र जतततै खोज्न थाले । उनिहरुले खोज्ने प्रकृया पनि कुनै मुसाले दुलो खोलेजस्तो थियो । सामान जताततै फालेर कुनै मतलब नै नगरि खोजिरहेका थिए, त्यो हुलले केहीबेर सबै सामान अस्तव्यस्त पारेर बाहिर आयो र आफ्नो बोसलाई भन्यो, केही छैन सर ।

त्यो आर्मीले आमालाई धम्क्याइरहेको थियो, कहाँ गए माओवादी भन् ? नत्र तलाईँ गोलिले हान्दिन्छु । आमाले लगातारको यातना सहन नसकेर एक्कासी उ त्यतातिर गए भनिदिनुभयो । बास्तवमा उहाँले कता गएका थिए केही देख्नुभएको थिएन मात्र बिहान धारामा देख्नुभएको थियो । आमाको उत्तरपछि त्यो आर्मीले आमाको गालामा थप्पड बजार्यो । त्यसरि आफ्नो आमालाई कसैले ज्यादती गरिरहँदा हामी पनि त्यो डरभित्रको पीडालाई रोक्न सकेनौँ र एक्कासी आमा–आमा भन्दै उहाँको हात समाउन पुग्यौँ । हामी आमाको हात समातेर बेजोडले रुन थाल्यौँ । तर ती राक्षसजस्ता भएका आर्मीहरुले हामीलाई रुन पनि दिएनन् ।

हामी ती दानवरुपी व्यक्तिहरुलाई हाम्रो आमा बालाई केही नगर्दिन आग्रह गरिरहेका थियौँ । तर उनीहरुले हाम्रो आग्रह के मान्थे ? हाम्रो अनुनय विनयले उनीहरुलाई कुनै मतलब राखेन । उनीहरुले हामीलाई आमाको साथबाट फुस्काएर केही पर लगेर फालिदिए । हामीमाथि हात हालेपछि बा चुपरहन सक्नुभएन र केही बोल्ने कोसिस गर्नुभयो ‘हैन यी बच्चाको के दोष ? यिनिहरुलाई केही नगर्नुस् । त्यति भन्नुभएको थियो, अर्को उताबाट आएर बाको छातीमा लात्ताले हानेर भुईँमा पछार्यो । हामी डरले रुन पनि सकेनौँ । अचानक म बालाई बोलाएर उठ्नुस् उठ्नुस् भन्न पुगेँ । बा बिस्तारै भुईँबाट उठ्नुभयो । उताबाट अर्को आवाज गर्जिन थाल्यो ‘ओइ… केटा हो सलाई लेत सालाहरुको घर आज आगो लगाएर खरानी पार्दिन्छु ।’

सायद्, त्यो बेलामा कसैले पनि सलाई दिएनन् नत्र त्यो कमान्डरले हाम्रो घरलाई पनि खरानी पार्ने थियो होला । त्यसपछि ती आर्मीहरुले बाआमालाई तल त्यो कपडा भएको बाटोतिर लिएर गए । उनीहरुले अपशब्द बोल्दै बाआमालाई गाली गरिरहेका थिए । हामी उनीहरुको सामु बाआमालाई नपिट्नुस् भन्दै गिड्गिडाइरह्यौँ । तर उनीहरुले हाम्रो कुरा के सुन्थे ।

केहीबेरमा हामीमाथि झन् ठूलो बज्रपात आइलाग्यो । उनीहरुले बाआमालाई आर्मी क्याम्पमा लगेर ठिक पार्ने भन्दै लिएर हिँडे । हामी जोडजोडले रुन थाल्यौँ । ‘अंकल बाआमालाई नलैजानुस् न हामी कोसँग बस्ने ।’ मैले रुँदै आर्मीहरुलाई अनुरोध गरेँ तर उनीहरुले हाम्रो कुरा सुनेनन् । बाले रुँदै हामीलाई मामाघर जान र आफूहरु छिटै फर्केर आउने बताउनुभयो । बालाई पाइन्ट लगाउन लगाएर बाआमालाई नै लिएर गए । हामी त्यहीँ बसेर रोइरह्यौँ ।

केहिबेरमा बाले भनेजस्तै भाइ र म मामाघर हिँड्यौँ । बाटोमा रुँदै चिच्याइरहेका थियौँ । सबै के भो ? के भो ? भने सोधिरहन्थे म मात्र बाआमालाई लगे मात्र भन्थँे अरु म केही बोल्न सक्दैनथेँ । बाटोमा रुँदै रुँदै हामी मामा घरसम्म पुग्यौँ । मामाहरुलाई घरमा भएको सबै घटनाको बेलिविस्तार लगायौँ । उहाँहरुले बाआमा छिटै फर्केर आउने आश्वासन दिनुभयो । हामी हाम्रो बाआमालाई भेट्ने आशा गुमाइरहेका थियौँ किनकी हामीले सुनेका थियौँ आर्मीले त धेरै पिट्छन्, लगेर कडाभन्दा कडा यातना दिन्छन्, सायद हाम्रो बाआमालाई पनि मारिदिनेपो हुन् कि भन्ने डर भित्रभित्र लागिरहेको थियो । हामीलाई मामाहरुले सम्झाइरहनु भएको थियो ।

भोलिपल्ट बालाई छोडिदिएको थियो आर्मीहरुले । हाम्रो फूपू दिदी र मामाको घर नजिक भएकाले हामी त्यतिबेला फुपू दिदीको घरमा थियौँ । बाआएको खबरले हतार–हतार हामी कान्छो मामाको घरमा गयौँ । त्यहाँ थुप्रै मान्छेहरु बालाई हेर्न र भेट्न पनि आउनुभएको थियो । बाको छातीमा गालामा, मुखमा र ढाडमा लठ्ठीका डामहरु थिए । बालाई देख्नासाथ म झम्टेर रुन थालेँ, आमालाई यताउती हेरेँ तर देखिनँ । ‘बा आमा खै त ?’ सोधिहालेँ, छोरा आमा त्यहीँ छ आमा पनि चाँडै नै आउँछे पिर नगर छोरा । ‘बा आमासँग छिटो भेट्न लाग्दिनु न’ मैले कर गर्न थालेँ । ‘हुन्छ छोरा हुन्छ आज मिल्दैन भोलि जाउँला है ।’ भनेर उहाँले टारिदिनुभयो ।

बालाई खास दोषी नदेखेपछि भोलिपल्टै छोडिदिएका थिए रे, तर आमाले पहिला ‘देखिनँ’ र पछि डरले ‘देखेँ’ भनेको हुनाले केही दिन सोध्पुछको लागि राखेको रे, त्यही कुरा चल्दै थियो त्यो भीँडमा । त्यो रात बाबा आएपछि केही राहत त भयो तर आमालाई देख्न मन अतालिरहेको थियो । कहिले भोलि आउला जस्तो भइरहेको थियो मलाई । मेरो कान्छो मामाको अथक प्रयास, केही मानवअधिकारकर्मी र बागलुङका केही भद्रभलाद्मीको विशेष पहलमा आमालाई उपल्लाचौरको ब्यारेकबाट जिल्ला प्रहरी कार्यालयमा सारिएको रहेछ ।

मामाले भान्जा आज तिमी र म आमालाई खाना लगेर जाने है । अनि आमालाई घर लिएर आउने भन्नुभयो । हामी आमालाई खाना लिएर जिल्ला प्रहरी कार्यालय पग्यौँ । केहीबेरको पखाइपछि खाना दिने पालो आयो । आमालाई राखेको थुनुवा कोठा बाहिर कतिखेर आमालाई देख्न पाउँछु होला भनेर ढोकातिर टुलु–टुलु हेरिरहेको थिएँ । तर त्यहाँ रहेको प्रहरीले मलाई भेट्न स्वीकृत दिएन । बाहिर मामा केही व्यक्तिहरुसँग आमालाई छुटाउन प्रयत्न गरिरहनुभएको थियो । तर उहाँको केही लागेन । म आमा भेट्ने इच्छा पूरा नगरी मामासँग फर्किएँ । हामी भाइ र म कहिले मामाकोमा कहिले फूपूको मा बस्थ्यौँ । बा भने कान्छो मामाकोमा बस्नुभएको थियो ।

एकदिन हामी गाउँका केही साथीहरु भएर नजिकैको कुवामा नुहाउन गएका थियौं, म नुहाउँदै थिएँ अचानक एकजना मेरो साथी आएर भन्यो, ‘तेरो आमालाई ल्याएका छन् छिटो आइजो रे ।’ ओहो ! मेरो खुशीको सीमा रहेन । म शरीरमा भएको साबुन पनि राम्रोसँग नपखाली कपडा लगाएर दौडिएँ । म दौडिएरमा मामाकोमा पुग्दा एउटा गुन्द्री माथि मेरी आमालाई सुताइएको थियो । उहाँको आँखा बन्द थियो । केही बोल्नुभएको थिएन । सबैजना सुँक्क सुँक्क गरिरहेका थिए । नजिक रहनुभएको मामालाई मैले सोधेँ, ‘मामा मेरो आमालाई के भएको ?’ भान्जा आमा बेहोस हुनुहुन्छ, उहाँलाई लिएर आउँदा पनि स्ट्रेचरमा लिएर आएको हो, घरी होस खुलिहाल्छ, फेरि बेहोस भैहाल्नुहुन्छ, चिन्ता नलेउ छिटो निको हुन्छ ।

मैले आमालाई हेरेँ, राती हुनुभको थियो, गलेर एक्दम सानी हुनुभको, हड्डी मात्र देखिन्थ्यो त्यो हातमा र अनुहारमा, म मात्र ‘आमा आँखा खोल्नुस न’ भनिरहेको थिएँ । केहीबेरमा आमाको होस् खुल्यो । म खुशी भएँ । तर उहाँ ‘मलाई मार्छन् मलाई बचाउ’ भन्दै बर्बराउन थाल्नुभयो । फेरि केहीबेरमा बेहोस् हुनुभयो । बा पनि त्यही हुनुहुन्थ्यो बा केही बोल्नै सक्नुभएको थिएन्, उहाँलाई त्यो अवस्थाले भित्रभित्रै मारिसकेको थियो, म घरी आमालाई पानी खुवाउँथे घरी आमाको टाउको मुसार्दिन्थेँ । तर उहाँको होस् खुलेको थिएन । पछि कान्छो मामा आएर पीँढीमा राखेर स्लाइन दिन थालियो । मामाको आफ्नो मेडिकल पनि थियो । उहाँ यसबारे जानकार पनि हुनुन्थ्यो । उहाँले आमाको उपचार गर्न थाल्नुभयो ।

म कतिबेला आमालाई होस् आउला र उहाँको काखमा लुटुपुटिउँला भनेर समय पर्खेर बसेको थिएँ । आमालाई कस्तो छ र के भको होला भनेर भेट्न आउनेको निकै घुइँचो थियो कान्छो मामाको घरमा । विस्तारै आमाको होस् आयो । उहाँ आफैँले छोराहरुको खोजी गरेपछि हामी नजिक गयौँ । हामी दाजुभाइ आमाको काखमा बसिरह्यौँ । आमा दिन प्रतिदिन ठिक हुँदै जानुभयो तर उहाँको मनको डर भने कहिल्यै निको भएन । उहाँलाई शारिरिक र मानसिक रुपमा गहिरो पीडा दिइएको थियो । उहाँको कानको जाली फुटेको थियो । बेलाबेलामा रगत बगिरहन्थ्यो । बेला–बेलामा हस्पिटल भर्ना र घरको आरामले उहाँ केही सञ्चो महशुश गर्न थाल्नुभयो । बालाई पनि निर्घात कुटपिट गर्दा ढाडमा समस्या देखियो । समय बित्दै जाँदा जनआन्दोलनको उपलब्धि स्वरुप नेपालमा राज्य पक्ष र विद्रोही पक्षले शान्ती सम्झौता गरी युद्द विरामको आह्वान गरे ।

जन–आन्दोलन तथा युद्धकालीन समयमा मृत्यु, घाइते, बेपत्ता, अंगभंग भएकालाई क्षतिपूर्ती दिने व्यवस्था पनि ल्यायो । फलस्वरुप हाम्रो परिवारलाई केही सामान्य राहत उपलब्ध भयो र आमाको कानको उपचार पनि निःशुल्क व्यवस्था गरियो । तर पनि उहाँको कानको पूर्ण रुपमा उपचार भएको छैन ।

यो त एउटा प्रतिनिधि घटना मात्र हो । धन्न, हाम्रो बाआमा आज हाम्रो साथमा हुनुहुन्छ तर कतिपयका त न बाआमा, न छोराछोरी आफ्नो साथमा छन् । उनीहरुको अवस्था कस्तो होला । के सबै घाइते, शहीद परिवार, बेपत्ता परिवार, अंगभंग भएकाले उचित राहत पाएकै छन त ? राहत त के उनीहरुको कुरा पनि सुनिएको छैन, आखिर कहिलेसम्म चुप बस्छ हाम्रो राज्य ? किन ति तमाम पीडितहरुको आवाजलाई यसरी बेवास्ता गरिरहन्छ ? किन ती तमाम पीडितको चित्कारको मजाक गरिरहन्छ, यो सरकार ?

यस्तै धेरै प्रश्नहरु सोधेर युद्धकालीन र द्वन्दकालीन समयका मुटुनै सिरिङ्ग हुने अनगिन्ती वास्तविक कथाहरु धेरै बोलिए धेरै लेखिए र धेरै सुनाइए पनि । यस्ता कथा धेरै कोरिए तर जे प्रयोजनाका लागि कोरिए त्यसको कुनै मूल्य भएन । यी कथाहरु सुन्न र पढ्नको लागि मात्र बनाइए तर ती कथाका पीडित बेवास्ता भइरहे, न सरकारले सुनिदिन्छ न अरु कसैले । खै कति गुनासो गर्ने सत्ता र कुर्सीमा मरिहत्ते गर्ने सरकारसँग ?

–लेखक शर्मा जनआन्दोलनका एक पीडित हुन् । प्रस्तुत घटना बागलुङबजार नजिक रहेको रातामाटा गाउँको धबिमावि स्कुल नजिक हो । त्यही स्कुलको एक क्वार्टरमा लेखक शर्माको परिवार बस्ने गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१