एकैदिन १७ जनामा देखियाे काेराेना संक्रमण

काठमाडाैं । नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । लगभग शून्यमा झरेको संक्रमण बिहीबार एकै दिन १७ जनामा देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य संक्रमित थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो ।

सक्रिय संक्रमित पनि बढेको पाइएको छ । बिहीबार ३० जना सक्रिय संक्रमित छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए ।

‘भारतमा संक्रमण बढिरहेको छ । भारतबाट संक्रमित नेपाल आइरहेका छन्,’ उनले भने, ‘हिजो मात्र सीमानाकाबाट सात जना संक्रमित नेपाल आएका छन् ।’

खुला सीमाबाट संक्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको उनले बताए । जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन पनि उनले आग्रह गरे ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१