भारतीय दूतावासले मनायाे ५८ औँ आइटेक दिवस

काठमाडाैं । भारतीय दूतावासले ५८औँ भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

शुक्रबार इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी उक्त दिवस मनाइएकाे हाे ।

प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी अधिकारी, आइटेकका अलम्नाइ (भूतपूर्व विद्यार्थी) र भारतका शैक्षिक संस्थामा अध्ययन गरेका प्रमुख पूर्व विद्यार्थी गरी ५०० भन्दा बढी अतिथिको उक्त कार्यक्रममा उपस्थिति थियो ।

समारोहमा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले हासिल गरेको विकास सम्बन्धी अनुभव एवम् विशेषज्ञता नेपाललगायत १६० भन्दा धेरै देशका दुई लाखभन्दा बढी सरकारी अधिकारी, व्यवसायी तथा उद्यमीहरु माझ पुर्याउन आइटेक कार्यक्रमले स्थापनाकालदेखि खेल्दै आएको भूमिकाको चर्चा गरे ।

साथै राजदूत श्रीवास्तवले भारतले यो वर्ष नेपालका लागि रेलमार्ग लगायतका विषयमा नयाँ कोर्षको सुरुवात गर्ने बारे विचार भइरहेको पनि बताए ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे, सहायक रथी पूर्ण बहादुर खत्री, संघीय संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे र नेपाली सेनाका सेनानी रेश्मा केसीलगायतका आइटेक अलम्नाइहरुले भारतमा रहँदाका दिनहरुको सम्झना गरे ।

उक्त अवसरमा भारतीय राजदूतावास,स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

भारतको शासन विधि तथा विकाससम्बन्धी विशेषज्ञता संसारभरका १६० भन्दा बढी देशहरुमाझ पुर्‍याएर त्यहाँको मानव संसाधनको विकासमा टेवा पुर्‍याउन यस आइटेक कार्यक्रमले उत्प्रेरकको रुपमा काम गर्दै आएको छ । सन् १९६४ बाट सुरु भएको यस कार्यक्रमले साझेदार राष्ट्रको क्षमता अभिवृद्धि गर्न सघाउ पुर्‍याउँदै आएकाे छ ।