अल्पमतमा लुम्बिनी प्रदेश सरकार, डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रसहित ६ दलले फिर्ता लिएपछि सरकार अल्पमतमा परेकाे छ ।

अब मुख्यमन्त्री लीला गिरीले एक महिनाभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ।

माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

उनीहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी गराएका हुन् ।

आजै माओवादी र जनमत पार्टीका मन्त्रीहरूले राजीनामा दिएका थिए ।

अब नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना छ ।

लुम्बिनीमा ८७ जना सांसद छन् । नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन जरुरी हुन्छ।

प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनमत पार्टी र जसपाका ३/३, एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन् ।

लुम्बिनीका ३ स्वतन्त्र सांसदमध्ये २ जना माओवादीमा प्रवेश गरिसकेका छन् । गत पुस २७ मा एमालेका गिरी मुख्यमन्त्री बनेका थिए ।