नेपाल–भारत सम्बन्धका थप नयाँ आयामहरु विस्तार भइरहेका छन् : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरु विस्तार हुने क्रममा रहेको बताएका छन् ।

नेपाल इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले काठमाडौंस्थित भारतीय राजदूतावासको सहकार्यमा साेमबार नेपाल र भारतबीचको द्विपक्षीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साेमबार एक कार्यक्रमको आयोजना गरेको थियाे ।

उक्त कार्यक्रमका प्रमुख अतिथि किराँतीले नेपाल-भारतबीच स्थल र हवाई मार्गको मात्रै सम्बन्ध नभइ रेलमार्ग र जलमार्गको नयाँ आयामहरू बिस्तार हुने बताए ।

उनले भने, ‘नेपाल र भारतको सम्बन्ध हवाई र स्थलमार्ग मात्रै नभइ अब नयाँ आयामहरू पनि बिस्तारै थपिँदै छ। रेल सञ्चालनले यो आयामलाई थप टेवा दिने नै छ । अहिले यसमा थप बिस्तारका सम्बन्धमा विचार हुँदैछ भने जलमार्ग पनि अर्को आयाम हुनसक्छ। जसले नेपाल र भारतको प्राचीनकालीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउने मलाई विश्वास छ ।’

मन्त्री किराँतीले नेपाल-भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको पनि बताए ।