बारा २ मा उपेन्द्र र राजेन्द्रकाे टक्कर !

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवारी दिने भएका छन् ।

उनी पार्टीका तथा नेता कार्यकर्ताहरुसँग छलफल गरेर उम्मेदवारी दिने मनस्थितिमा पुगेको लोसपाका एक कार्यकारिणी सदस्यले बताए ।

मंसिर ४ को निर्वाचनमा नेता महतो सर्लाही–२ बाट पराजित भएका थिए ।

बारा २ बाट चुनाव जितेका रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्र खाली भएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले सोही क्षेत्रबाट उम्मेदवारी दिने तय भएको छ ।

यस्तै, जनमत पार्टीले माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । त्यसका लागि कुशवाहा जनमत प्रवेश गरिसकेका छन् ।

यसअघि जनमत पार्टीले महतोलाई चुनाव लड्न आग्रह गरेपनि उनले मानेका थिएनन् ।