काठमाडौं । नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को उम्मेदवार चयन गरेको छ ।
आज शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टी कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले बारा-२ का लागि भने उम्मेदवार टुंग्याउन नसकेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
तनहुँबाट उम्मेदवार बन्न लागेका खनाल पूर्वप्रहरी महानिरीक्षक हुन् ।
खनाल गत मंसिरको चुनावमा काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।
चितवन २ मा उम्मेदवार बन्न लागेका न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन् । जिल्ला कमिटीले न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो ।
न्यौपान गत मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाएका थिएनन् ।