काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्ने भएका छन् ।
उनी नागरिक उन्मुक्ति पार्टीबाट बैशाख १० मा हुने उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट उम्मेदवारी दिने भएका हुन् ।
यससँगै दुई पार्टीबीच दुई बुँदे सहमति समेत भएको छ । जसमा कार्यदल बनाएर छिट्टै पार्टी एकता गर्ने सहमति भएको नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।
उनका अनुसार चितवन र तनहुँमा पनि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने भएको छ । चितवन क्षेत्र नं २ मा राजेश अधिकारी र तनहुँ क्षेत्र नं १ मा भीम सुनारलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता पण्डितले जानकारी दिए ।
नागरिक उन्मुक्ति हालको सत्ता गठबन्धनमा आवद्ध छन् ।
बारा २ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवारी दिने निर्णय भएको छ ।