काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज वा भोलि सरकारले पूर्णता पाउने बताएका छन् ।
बुधबार बिहान माओवादी केन्द्रको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको भेलामा सरकारले पूर्णता पाएपछि नीति तथा कार्यक्रममा केन्द्रित हुने प्रचण्डले बताए ।
‘आज वा भोलिमा सरकारले शतप्रतिशत पूर्णता पाउँछ । यसपछि हामी नीति, कार्यक्रम र बजेटमा केन्द्रित हुन्छौँ,’ प्रचण्डको भनाइ छ ।
कठिन परिस्थितिमा आफूले सरकारको नेतृत्व गरिरहेको उनले बताए । ‘चुनौती नै चुनौतीका बिचसमेत देशका लागि केही गर्न सकिन्छ भन्ने दृढतासहित सरकारको नेतृत्व गरिरहेको छु । यसलाई मैले चुनौतीपूर्ण अवसर भनेको छु,’ उनले भने ।
सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडे समाजवादको आधार तयार नहुने प्रचण्डको तर्क छ ।
परम्परागत नीति तथा कार्यक्रमले समस्याको सम्बोधन नहुने बताएका प्रचण्डले पहिलाको भन्दा फरक गर्ने चुनौति औंल्याए । ‘परम्परागत नीति, कार्यक्रम र बजेटले देशका समस्या सम्बोधन गर्न सक्दैन, अर्थतन्त्रका चुनौती पार लगाउन सक्दैन ।
त्यसैले विगतभन्दा केही नयाँ, विगतभन्दा केही फरक र देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्ने योजनाहरू ल्याउनुपर्छ,’ उनले भने ।