जापान । गलकोट स्पोर्ट्स क्लब जापानले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा आठौं सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएकाे छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल उद्देश्यका साथ सात समुद्रपारी जापानलाई आफ्नो कर्मभूमि बनाई आएका गल्कोटे दाजुभाईबाट एकीकृत रुपमा स्थापित यस संस्था ‘गल्कोट स्पोर्ट्स क्लब, टोकियो’ले राष्ट्रिय खेल भलिबलको संरक्षण संवर्द्धन, विकास र प्रवासमा रहेका खेलाड़ीहरूलाई क्रियाशील बनाइ राख्न प्रतियाेगिताकाे आयाेजना गरेकाे हाे ।
गल्कोट स्पोर्ट्स क्लब टोकियोले आफ्नो नवाैँ वार्षिकाेत्सव तथा आठौँ सिल्भर रनिङकप खुल्ला पुरुष भलिबल प्रतियोगिता टाेक्यो कामतामा गर्ने क्लबका अध्यक्ष डिलाराम निउरेले जानकारी दिए ।
भलिबल प्रतियोगितामा प्रथम पुरस्कार तीन लाख १९ हजार ९ सय ९९ रुपैयाँ नगदसहित रनिङ सिल्भर कप, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार दुई लाख १९ हजार ९ सय ९९ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र, तथा सान्त्वना पुरस्कारमा ५५ हजार ५ सय रुपैयाँ सहित मेडल, प्रमाणपत्र पुरस्कार रहेकाे महासचिव हिमाल कँडेलले जानकारी दिए ।
क्लबले वार्षिकोत्सवको तथा वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्चको १o तारिक अर्थात् सोमबार टोकियोको ओटाकु सोउगो ताइइकुकानमा गर्न लागेकाे हाे । उक्त प्रतियाेगिताकाे लागि सम्पूर्ण तयारी पूरा भइसकेकाे क्लबका सचिव दिनेश थापाले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि आवश्यक अम्पाएर खेल मैदानलगायतको व्यवस्थापकीय कार्य चुस्तदुरुस्त रूपमा गर्न लागिएकाे छ । प्रतियाेगिता सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरी नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण सम्वर्द्धन गरिराख्ने क्लबका खेल संयोजक गणेश केसीले बताए ।
क्लबले जापानमा रहेका सम्पूर्ण सहयाेगी मन, सहयाेगी दाताहरु, खेलप्रेमीलाई कार्यक्रममा उपस्थित हुन आग्रह पनि गरेकाे छ । प्रतियाेगिता बिहान ९ बजेदेखि सुरु हुनेछ ।