दुर्गा प्रसाईंकाे गर्जन : रविजी, तपाईंकाे पार्टीका अझै तीन जनाकाे रेकर्ड छ मसँग (भिडिओसहित)

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अझै तीनजनाले पैसा मागेकाे अडिओ रेकर्ड भएकाे बताएका छन् । साेमबार पर्सामा आयाेजना गरिएकाे एक कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

उनले अहिले याे सुरुवाती चरणमात्र भएकाे पनि बताए । उनले आफूसँग विभिन्न पार्टीका ८ जनाले सांसद र मन्त्री बन्नका लागि पार्टीले पैसा मागेकाे भन्ने आशयकाे अडिओ रेकर्ड रहेकाे पनि बताए । उनले भने, ‘याे त कास्टिङमात्र हाे रविजी, तपाईंकाे पार्टीका अझै तीन जनाकाे रेकर्ड छ मसँग । जम्मा ८ जनाकाे रेकर्डमा भर्खर एक जनाकाे मात्र बाहिर आएकाे छ ।’

उनले केही समयअघि सुरु गरेकाे ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’काे क्रममा विभिन्न जिल्लामा गएर बाेल्ने क्रममा तत्कालीन उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सांसद बन्नका लागि पैसा मागेकाे आराेप लगाएका थिए । त्यसतर्फ पनि इंगित गर्दै आजकाे कार्यक्रममा भने- ‘भाेट जितेर गएकाे एक महिनामा, दुई महिनामा हेर्नुहाेस् हालत के छ ? सांसद बन्न, मन्त्री बन्न पैसा मागेका छन् ।’

उनले देशका राजनीतिज्ञले पटक–पटक देशमा गद्दार गरेकाे र धर्तीमाथि बलात्कार भएकाे टिप्पणी पनि गरे । उनले आफूले अहिलेसम्म कसैकाे पैसा नलिएकाे र देश बचाउनका लागि महाअभियानकाे सुरुवात गरेर हिँडेकाे बताए । उनले अब तीन कराेड नेपालीले आफ्नाे अभियानलाई साथ दिने दाबी पनि गरे ।

पछिल्लाे समय प्रसाईंले महाअभियानकाे नाममा लघुवित्त र सहकारीकाे ब्याजविरुद्ध बाेलिरहेका छन् । उनले आफ्नाे अभियान चुनाव जित्न भाेट माग्न नभएकाे र नागरिक बचाउनमात्र भएकाे पनि बताएका छन् । उनले भने- ‘याे हाम्राे पार्टी हाेइन । हामी चुनाव जित्न आएकाे हाेइन । तपाईंहरुलाई बचाउन आएकाे हाे । हामीलाई साथ दिनुस् ।’

आइतबार रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पार्टीका काेर टिमलाई २ कराेड बुझाउनुपर्ने भन्दै प्रसाईंसँग २ कराेड रुपैयाँ माग गरेका थिए । उनले आफूले स्वास्थ्यमन्त्री भएर प्रसाईंकाे काम गरिदिने आश्वासन दिएकाे पनि उक्त अडिओ रेकर्डमा सुन्न सकिन्छ ।