संविधान नै नमान्नेसँग सहकार्य गर्नेले एमालेलाई संविधान विरोधी भनेर प्रचार गरिरहेका छन् : पाेखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान नै नमान्नेहरुसँग सहकार्य गर्नेहरुले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले संसद बिघटनलाई लिएर संविधान नमान्ने भन्दै हस्ताक्षर गर्नेहरुसँग सहकार्य गर्ने पार्टीहरुले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताए ।

उनले क्रान्तिकारीका लागि संविधान अगाडि बढ्ने बाटो मात्रै भएको भन्दै संविधान बदल्न नमिल्ने चिज नभएको जिकिर गरे । उनले मुलुकलाई अघि बढाउन बाधा अवरोध सिर्जना भए संविधान बदल्न सकिने धारणा राखे ।

अहिले नेपालको राष्ट्रिय राजनीतिमा एमाले र कांग्रेस मात्रै मुख्य दल भएको जनताले प्रमाणित गरेको अवस्थामा एमाले मात्रै समग्र बामपन्थीको मुख्य शक्ति भएको उनले बताए ।

पोखरेलले परमादेशबाट एमालेको सरकार हटाएपछि मुलुक अत्यन्तै अप्ठेरो अवस्थामा पुगेको र अदालतको विश्वश्नीयता पनि कम भइरहेकाे बताए । उनले आफ्नो सौदाबाजीको माध्यम अदालतलाई बनाउने नियत स्पष्ट देखिएको आरोप लगाए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला सचिव सचिव सुदर्शन मिश्रलगायतका नेताहरुलाई एमाले महासचिव पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।