भिरबाट खसेको ढुंगा लागेर घाइते गणेशलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीनजिकै ढुंगा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरूङलाई उद्धार गरी काठमाडौं ल्याइएको छ । पहाडबाट खसेको ढुंगा शरीरमा लागेपछि गुरूङ घाइते भएका छन् ।

मनास्लु पदमार्गमा हिँडिरहेका बेला गुरूङमाथि भिरबाट खसेको ढुंगा लागेको थियो ।

उनलाई बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

गोरखा १ का सांसद राजेन्द्र बजगाईले ढुंगा लागेर घाइते गुरूङलाई प्रधानमन्त्री विपद् व्यवस्था कोष कार्यक्रमसँग समन्वय गरी उद्धार गरिएको बताए ।

उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।