
न जाडो, न गर्मी । घुमफिर गर्नका लागि यतिबेलाको मौसम उपयुक्त मानिन्छ । त्यसमाथि नयाँ वर्षको माहोल छ । नयाँ वर्षमा हामीमध्ये धेरैले घुम्न जाने योजना बनाउँछौँ । तर, घुम्ने ठाउँको बारेमा जानकारी नहुँदा अलमलिइरहेका हुन्छौँ ।
काठमाडौं उपत्यकाभित्र बस्नेहरुका लागि नयाँ वर्षमा घुम्न लायक ठाउँ अनैकौँ छन् । उपत्यकाभित्र हनुमानढोका दरबार स्क्वायर, स्वयम्भुनाथ, पशुपतिनाथ, बौद्धनाथ, पाटन दरबार र कृष्ण मन्दिर पर्यटकीय गन्तव्य हुन् ।
यसैगरी, उपत्यकाबाट नजिक पनि उपयुक्त घुम्न लायक स्थान छन् । यी हुन् उपत्यकाबाट नजिक घुमघामका लागि प्रसिद्ध स्थान :
धुलिखेल
काठमाडौंबाट झण्डै ३२ किलोमिटरको दुरीमा रहेको धुलिखेल पर्यटकीय दृष्टिकोणमा परिचित स्थान हो । त्यहाँ पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले पनि भरिपूर्ण रहेको छ । परिवारिक घुमघामको लागि पनि धुलिखेललाई प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ ।
काठमाडौंबाट नजिक र सार्वजनिक यातायातको पनि सुविधा हुने भएकाले पनि धुलिखेललाई प्रमुख पर्यटकीय स्थलका रुपमा लिइन्छ । धुलिखेलमा सर्वसाधारणले पनि रमाइलो गर्न सक्ने होटेल–रिसोर्टको राम्रो सुविधा रहेको छ ।
नगरकोट
काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्वमा पर्छ नगरकोट । नगरकोटबाट हिमालहरुको अवलोकन गर्न सकिन्छ ।
समुन्द्र सतहबाट नगरकोट २ हजार १ सय ५९ मिटर उचाईमा रहेको छ । हाइकिङका लागि यो स्थान उपयुक्त मानिन्छ ।
चन्द्रागिरी
उपत्यका नजिकको अर्को प्रमुख पर्यटकीय गन्तव्य चन्द्रागिरी । समुद्र सतहबाट २ हजार ५ सय मिटरमा रहेको चन्द्रागिरी डाँडा भौतिक सुविधा सम्पन्न पर्यटकीय गन्तव्यका रूपमा अहिले विकसित भइसकेको छ ।
काठमाडौंबाट नजिक रहेको चन्द्रागिरीमा केबुलकार र सुविधा सम्पन्न होटलको सुविधाले पनि पर्यटकको प्रमुख गन्तव्य बनेको छ, चन्द्रागिरी ।
चम्पादेवी
समुद्र सतहबाट २ हजार २ सय ५० मिटर उचाइ रहेको चम्पादेवी उत्कृष्ट पर्यटकीय गन्तव्य हो । पदयात्राका लागि मात्र नभएर चम्पादेवी धार्मिक तथा ऐतिहासिक रुपमा पनि प्रसिद्ध छ ।
उक्त क्षेत्रबाट सर्वोच्च शिखर सगरमाथासहित १२ वटा हिमालहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
पदयात्राका लागि फर्पिङ, कीर्तिपुरको पुष्पलाल पार्क, चाल्नाखेलको बोसनबाट जान सकिन्छ । धार्मिक तथा ऐतिहासिक रुपमा पनि प्रसिद्ध रहेका चम्पादेवी पदयात्रा, दृश्यावलोकन र प्राकृतिक सौन्दर्यको अनुभव उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ ।
शिवपुरी
शिवपुरी डाँडा काठमाडौं उपत्यकाको दोस्रो अग्लो चुचुरो हो । समुद्री सतहबाट २ हजार ५ सय ६३ मिटर उचाइमा रहेको शिवपुरी शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्छ ।
घना जंगलको उकालो यात्रा गर्दै शिवपुरी डाँडा पुगेपछि हिमालको मनोरम दृश्यका साथै काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ ।
यहाँ पारिवारिक सुविधा सम्पन्न होटेल, रिसोर्ट तथा होमस्टेको सुविधा रहेको छ ।
चिसापानी
पदयात्राका लागि चिसापानी पनि उत्कष्ट गन्तव्य रहेको छ । चिसापानी सुन्दरीजलबाट ११ किलोमिटर र समुद्री सतहबाट २ हजार २ सय मिटर उचाईमा रहेको छ ।
वरिपरिका डाँडा देखिने रमणिय अग्लो स्थानमा रहेको चिसापानी सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकनका लागि प्रख्यात छ ।
यहाँबाट सगरमाथा, माछापुच्छ्रे, गौरीशंकर, अन्नपूर्ण, लाङटाङ, गणेश हिमाललगायत हिमश्रृङ्खला देख्न सकिन्छ ।
गोदावारी
काठमाडौंबाट करिब १० किलोमिटर टाढा छ गोदावारी । प्राकृतिक सौन्दर्यता मात्र नभई धार्मिक तथा पौराणिक रुपमा प्रसिद्धी कमाएको गोदावरीमा वनस्पति तथा पुष्प उद्यान पर्या–पर्यटनका लागि उपयुक्त गन्तव्य हो ।
पर्यटकीय गन्तव्यका साथै पिकनिक र पारिवरिक रिफ्रेसका लागि गोदावरी उपयुक्त ठाउँ रहेको छ ।
गोदावारीमा बस्नको लागि आरामदायी होटल, रिसोर्ट तथा रेस्टुरेन्टको पनि सुविधा छ । ढकमक्क फुलेका फूल, विभिन्न जडिबुडी र वनस्पति उद्यान, जल उद्यान, बगैँचा र जंगलले घेरिएको गोदावारी प्राकृतिक सौन्दर्ययुक्त छ ।
फूलचोकी
फूलचोकी पदयात्राका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य हो । फूलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल पनि हो ।
समुद्र सतहबाट २ हजार ७ सय ६२ मिटरको उचाइमा रहेको फूलचोकी काठमाडौं उपत्यकालाई घेरेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो ।
फूलचोकीबाट प्राकृतिक दृश्यावलोकन साथै तराईका समथर फाँटदेखि उत्तरका हिम श्रृङखलाको पनि दृश्यावलोकन गर्न सकिन्छ । फूलचोकीको विशेषता भनेको त्यहाँको आकर्षण वनस्पति तथा वन्यजन्तुहरू पनि हुन् ।
लाँकुरी भन्ज्याङ
उत्कृष्ट पर्यटकीय गन्तव्य हो, लाँकुरी भन्ज्याङ । ललितपुर महानगरमा पर्ने लाँकुरी भन्ज्याङ उपत्यकाको दृश्यावलोकन र हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ ।
लाँकुरी भन्ज्याङ वैदिक कालको सांस्कृतिक स्तम्भका रूपमा रहेको शृंग ऋषिको गुफा आदि कारणबाट पनि महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा परिचित छ ।
सुन्दरीजल
सुन्दरीजल काठमाडौं नजिकका अर्को घुम्न लायक गन्तव्य हो । काठमाडौंबाट उत्तरमा १५ किलोमिटर दुरीमा रहेको यो ठाउँ नाम जस्तै सुन्दर छ ।
यो ठाउँमा घुम्न जानेहरूका लागि खान र बस्न लागि उचित सुविधायुक्त होटल, रिसोर्ट तथा होमस्टेहरु पनि रहेका छन् ।
दूध जस्ता सेता झरनाका नामले चिनिएको सुन्दरीजल हाइकिङ जानका लागि पनि प्रमुख पर्यटकीय गन्तव्य बनेको छ ।
काठमाडौंबाट सुन्दरीजल पुग्न पदयात्रा जानेहरुका लागि ६ घण्टा लाग्छ । सुन्दरीजल हाइकिङका लागि मात्र नभएर पारिवारिक घुमघामका लागि पनि राम्रो ठाउँ मानिन्छ ।
ककनी
पदयात्राका लागि काठमाडौं नजिक रहेको अर्को पर्यटकीय गन्तव्य हो, ककनी । माछापोखरीबाट २१ किलोमिटर दुरीमा ककनी पुगिन्छ । पर्यटकीय गन्तव्य मात्र नभएर ककनी ऐतिहासिक र सांस्कृतिक रुपमा उत्तिकै महत्वपूर्ण छ ।
ऐतिहासिक महत्व बोकेको बसन्ती दरवार, रुम्वा राजाको दरवार र स्थानीय सांस्कृतिक झाँकी आदि ककनीमा रहेका छन् ।
समुद्र सतहबाट २ हजार २ मिटरको उचाईंमा रहेको ककनीबाट दक्षिणमा सिमभन्ज्याङ र दामन, पूर्वमा काठमाडौं उपत्यका, उत्तरमा गणेश हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, बुद्ध, मनास्लु, हिमचुली, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, सगरमाथा, ल्होत्सेलगायत हिमाल र थानसिंह फाँटका मनोरम दृश्य देख्न सकिन्छ ।
टौदह
काठमाडौंबाट टौदहमा पुगेर रमाउन धेरै समय छुट्ट्याउनु पर्दैन । काठमाडौंबाट नजिकै रहेको यो स्थान अत्यन्तै रमणीय छ । धेरै प्रेम जोडीहरु र कलेजका विद्यार्थीहरुको रोजाइमा पर्ने टौदह कीर्तिपुर नगरपालिकामा पर्छ ।
काठमाडौंको पुरानो बसपार्कबाट दक्षिणकालीको बस चढेर टौदह पुग्न सकिन्छ । पुरानो बसपार्कबाट सात किलोमिटर मात्र यात्रा गरेपछि पुग्न सकिने टौदह काठमाडौं उपत्यका भित्रको सबैभन्दा ठूलो ताल मानिन्छ ।
पर्यटनका लागि उपयुक्त स्थानका रुपमा टौदहलाई मानिन्छ । यस तालमा नजिकै रहेको चम्पागिरी पहाडको छायाँ देख्न पाइन्छ ।
चोभार
यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । काठमाडौं बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिण क्षेत्रमा रहेको चोभारबाट काठमाडौं सहरको सुन्दर दृश्य र हिमाल पनि अवलोकन गर्न सकिन्छ ।
जोडीलाई लुकिछिपी माया साटासाट गर्न यहाँ प्रशस्त स्थानहरु छ । चलचित्र तथा म्युजिक भिडियोका छायांकनका लागि प्रख्यात मानिएको यो स्थान सुनसान र एकान्त छ ।
भोटेचौर
‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरै जोडीको रोजाइमा पर्छ ।
प्राकृतिक सौन्दर्यतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमा परिवारिक घुमघामको लागि राम्रो मानिन्छ ।
चावहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटलहरु पनि छन् । साँखुबाट दुई घण्टाको बसयात्रा गरे भोटेचौर पुगिन्छ । साँखुबाट पाँच घण्टा हाइकिङ गर्दै जाँदा अविस्मरणीय हुन्छ ।
ललितपुरको बज्रवाराही
यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । उपत्यकाका चार वाराहीमध्ये बज्रवाराही मन्दिरको बेग्लै महत्व छ । ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेल तथा जावलाखेलबाट सहजै गाडी पाइन्छ ।
प्राकृतिक रूपले सुन्दर हुनुका साथै ऐतिहासिक स्थलका रूपमा पनि यो मन्दिरको विशेष महत्व छ ।
दामन/चित्लाङ
मकवानपुर जिल्लामा पर्ने यी दुई गन्तब्य गर्मी मौसममा गर्मी छलेर चिसोको आनन्द लिने आकर्षक गन्तब्य हुन् । दामनमा वैशाख, जेठमा पनि बिना ज्याकेट बस्न सकिन्न ।
खासगरी यी स्थान काठमाडौं, हेटौँडा र तराईका जिल्लाबाट पनि नजिकको शितल गन्तब्य हो ।
कम्तीमा दुई रात, तीन दिनको प्याकेजमा जाने हो भने दामन र चित्लाङको मज्जा उठाउन सकिन्छ । चित्लाङ आकर्षक गाउँ हो । यहाँ होमस्टेको पनि व्यवस्था छ ।