काठमाडाैं महानगरले ताेड्याे शिक्षा शाखामा लगाएकाे ताला, बालेन भन्छन्- विद्यालयमा राजनीति अपराध

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा शाखामा लगाएको ताला फोडेको छ ।

नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो महानगरको शिक्षा विभागमा लगाएको ताला फोडेको हो ।

मेयर बालेन साहले काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको भन्दै अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फाेरेर विफल पारेको बताए ।

उनले भने, ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौँ । त्यस माथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो । यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौँ ।’

‘शैक्षिक माफियाको निर्देशनमा नेपालका विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनका विरुद्ध बालेन सरकार जसरी आएको छ, त्यसको हाम्रो संगठन प्रतिबाद गर्न चाहान्छ । हाम्रो संगठनले पट्क पट्क महानगरपालिकालाई मौखिक र लिखित रुपमा शैक्षिक बिकृती र शैक्षिक रुपान्तरणका विषय सहित माग पत्र पेस गरेको थियो । विगतमा पेश गरिएका मागपत्रको छलफल र बहसबाट हल गर्नुको सट्टा शैक्षिक माफीयासंग मिलेर विद्यार्थी संगठन बिरुद्ध आउनु दलाल पुजीवादी संसदीय व्यवस्था असफल भएको पुष्टि गर्दछ । अहिले शैक्षिक दलालहरुले सरकारी विद्यालय र संस्थागत विद्यालयहरुले चर्को शुल्क लिएका छन । भर्नाको नाममा ३००० देखि १००००० सम्म अवैधानिक रुपमा शुल्क अशुल्ने लगायत तमाम समस्या हुँदा महानगर कानमा तेल हालेर बसेको छ । बिगतमा हामिले बुझाएको मागहरु प्रति गम्भीर बन्दै महानगरले गरेको गलत निर्णय नसच्याए सम्म हाम्रो तालाबन्दी जारी रहन्छ ।’ क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संगठनका मागहरु प्रति गम्भीर र लगाएको ताला तोडिए संगठन थप संर्घष गर्ने बाध्य चेतावनी पनि दिएको थियो ।