फरार सांसद कोइरीको बिरामी बिदा भएन स्वीकृत, आगामी अधिवेशनबाट कानुनबमोजिम निर्णय हुने

काठमाडौं । महोत्तरी १ बाट निर्वाचित नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीबारे प्रतिनिधि सभाको आगामी अधिवेशनबाट कानुनबमोजिम निर्णय लिने समझदारीपछि प्रतिनिधि सभाको अवरोध हटेको छ ।

अधिवेशन अन्त्यका क्रममा दश वा सोभन्दा बढी बैठकमा लगातार अनुपस्थित सांसदको बिदाबारे निर्णय गर्ने अभ्यास भए पनि कोइरीको हकमा विवाद भएपछि आगामी अधिवेशनबाट कानुनबमाेजिम निर्णय गरिने समझदारी भएकाे हाे ।

सत्तापक्षका सांसदहरुले फरार अभियुक्तलाई बिरामी भनेर प्रस्ताव स्वीकृत गर्न नसकिने अडान राखेपछि अर्को अधिवेशनमा निर्णय गर्ने भनि विवाद पन्छाइएको छ ।

शुक्रबारको बैठकको अन्त्यमा विवाद भएपछि साँझ ५ : १० बजे बैठक स्थगित भएको थियो । राति ८ बजे दोस्रो बैठक बोलाइए पनि विवादका कारण राति १० बजेमात्र बैठक बसेको थियो ।

दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले कोइरीबारे अर्को अधिवेशनमा कानुन अनुसार निर्णय गर्ने जानकारी दिएका थिए ।

प्रतिनिधिसभा निमायवली अनुसार अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेका सांसद निलम्बन हुने व्यवस्था छ । सभामुख घिमिरेले नियमावलीको सो व्यवस्था कार्यान्वयनमा आएपछि अधिकारप्राप्त निकायबाट पत्राचार नभएको भन्दै निलम्बनको प्रक्रिया अघि बढाउन अस्वीकार गरेका थिए ।

२०७२ भदौमा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या अभियोग लागेका कोइरीले फरार रहेकै अवस्थामा निर्वाचनमा सहभागी भएर विजयी भएका थिए ।

विकको हत्या अभियोगमा सुरुमा जिल्ला अदालतले कोइरीलाई एक लाख रुपैयाँ धरौटीमा रिहाको आदेश गरेको थियो । उच्च अदालत जनकपुरले भने २०७७ मा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो । अदालतको आदेश कार्यान्वयन नभइ कोइरी अहिले फरार छन् ।

फरार अवस्थामा रहेका उनले संसदलाई २०७९ माघ २५ गतेदेखि बिरामी परेकाले बिदा स्वीकृतका लागि निवेदन पठाएका थिए । कोइरीले अधिवेशनमै दुईवटा निवेदन पठाएका थिए ।

शुक्रबार अधिवेशन अन्त्यका क्रममा उक्त बिदाको जानकारी स्वीकृतका लागि पेस भएपछि विवाद भएको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तावको विरोध गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१