
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । आज बालुवाटारमा भएको भेट्मा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई सरकारमा सामेल हुन् प्रस्ताव गरेका छन् ।
प्रचण्डले रास्वपाले अघि सार्ने सर्तहरू आफूलाई मञ्जुर हुने संकेत गरेका थिए । तर, लामिछानेले भने प्रचण्डको प्रस्तावलाई घुमाउरो रूपमा अस्वीकार गरेको स्रोतको भनाइ छ ।
भेटमा रविले आफ्नो पार्टीले नीति तथा कार्यक्रममा समावेश गराएको ‘भ्रष्टाचारको फाइल खोल्ने’ एजेन्डालाई अहिले हटाइएकोप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।
प्रधानमन्त्रीले भने जसरी पनि रास्वपा सरकारमा आउनुपर्ने भन्दै नीति तथा कार्यक्रम पनि सच्याउन आफू तयार गरेको घुमाउरो संकेत गरेका थिए । तर, रविले भने पार्टी प्रतिपक्षमै बस्न सक्ने प्रधानमन्त्रीलाई बताएका छन् ।
रास्वपाको भोलि केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक बस्दै छ । भोलिको बैठकले सरकारबाट समर्थन झिक्ने विषयमा निर्णय भने लिने छैन । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने मनस्थिति नेतृत्वले बनाइसकेको बुझिएको छ ।