काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धबाट प्राप्त उपलब्धिमाथिकाे प्रहारलाई धुलाे चटाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।
अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै झण्डै सत्तारी वर्ष लगाएर नेपाली जनताले जनयुद्ध र जनआन्दोलनको श्रृंखलाबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने षड्यन्त्र प्रतिगमनको कोणबाट भइरहेको बताए ।
उनले भने, ‘अहिलेको उपलब्धि रक्षाको लागि मैले अहिले जनयुद्ध भनेको छैन । भूमिगत जाने भनेको छैन । तपाईँ हामी सडकबाटै गर्जियौं भनेपनि स्यालहरु लखेटिन सक्छन् ।’
उनले फेरि पनि आवश्यक परेकाे खण्डमा आफूहरु त्याग, तपस्या गरेर उपलब्धि बचाउन लागिपर्ने प्रतिबद्धता पनि जाहेर गरे ।
प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति असन्तुष्टि पनि जनाए । उनले जनताले फोहोर फ्याँक्ने ठाउँमा फालेको व्यक्ति पूर्वबाट उठ्न खोजेको भन्दै टिप्पणी समेत गरे ।