टोपबहादुर रायमाझीको घरमा प्रहरीकाे छापा

काठमाडौं । पक्राउ पुर्जी जारी भएर फरार रहेका नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

प्रहरीले ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा खानतलासी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरको टोलीले छापा मारेको प्रहरीले जनाएको छ ।

टोपबहादुरविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको छ । पक्राउ पूर्जी जारी भएका रायमाझीलाई प्रहरीले खोजिरहेको छ ।

नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी बुधबार अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका थिए ।

उनी अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेर सहभागी भएका थिए ।

कार्यक्रमपछि सन्धिखर्कमा पत्रकारहरुसँग कुराकानी गर्दै यस घट्नामा आफ्नो पनि नाम जोडिएकोप्रति अचम्ममा परेको उनले बताएका थिए । साथै कानुनलाई सहयोग गर्नेसमेत प्रतिक्रया उनले दिएका थिए ।

कानुनलाई सघाउँछु भनेका रायमाझी बुधबार रातिदेखि नै फरार छन् । उनको फोनसमेत स्विच अफ रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।