विराटनगर । जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
सुनसरीको इटहरीमा बुधबार बसेको जसपा कोशी प्रदेश समितिको बैठकले सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो ।
यो निर्णयसँगै प्रदेश सरकारमा रहेकी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता हुने भएकी छन्।
जसपाले लिम्बुलाई गत पुस २५ गते सरकारमा पठाएको थियो। केन्द्रका कांग्रेस नेतृत्वको गठबन्धन बनेदेखि कोशीमा पनि सरकार हेरफेर प्रयास भएको थियो।
जसपाले समर्थन फिर्ता लिएपछि अब नेकपा माओवादी केन्द्रले पनि एमाले नेतृत्वको सरकार छाड्ने सम्भावना छ ।
कांग्रेसको योजना अनुसार अब माओवादी पनि बाहिरिएमा कार्की नेतृत्वको सरकारले आगामी वर्षको बजेट, नीति कार्यक्रम पारित गर्न सक्दैन ।
कांग्रेसले सरकार ढाल्ने योजना बनाएपछि मुख्यमन्त्री कार्कीले पनि सबैलाई विश्वासमा लिने गरी कुरा गरिरहेका थिए । एमाले स्थायी कमिटी सदस्य कार्की गत पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री भएका थिए ।
कार्की नेतृत्वको सरकार ढले नै पनि अहिलेको गठबन्धनले नयाँ सरकार बनाउन सजिलो छैन । ९३ सांसद रहेको कोशीमा बहुमतका लागि ४७ जनाको समर्थन चाहिन्छ । बजेट पारित गर्न पनि ४७ जनाको साथ चाहिन्छ ।
सरकारको नेतृत्वको गरिरहेको एमालेसँग कोशीमा ४० प्रदेशसभा सदस्य छन् । उसका लागि अझै ७ सांसद चाहिन्छ । सरकारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी उसको पक्षमा उभिँदा पनि ४६ हुन्छ । १ सांसद रहेको जसपा अहिले एमाले र कांग्रेस नेतृत्वको गठबन्धन दुवैतिर निर्णायक छ ।
कोशीमा सभामुखसहित माओवादीका १३ प्रदेशसभा सदस्य छन् । अहिले जसपा केन्द्रमा सत्ता गठबन्धनमै छ । यहाँ कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सांसद् हुन्छन् ।
तर कोशीका सभामुख बाबुराम गौतमले सरकार बनाउँदा मत दिन पाउने नपाउनेमा विवाद छ । कांग्रेस र माओवादीले सभामुखले पनि निर्णायक मत दिन पाउने दाबी गरेका छन् ।
तर एमालेले भने यदि सभामुखले मत दिएर पक्ष विपक्षमा उभिने हो भने पद छाड्नु पर्ने अडान लिएको छ ।