काठमाडौं । सिमाविद् वुद्धि नारायण श्रेष्ठले, भारतले आफ्नो संसद भवनमा राखेको नेपाली भूमिसहितको नक्सा नहटाए नेपालले पनि नेपालको संसद भवनमा ग्रेटर नेपालको नक्सा राख्नुपर्ने तर्क गरेका छन् ।
बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतले आफ्नो नक्सामा नेपालको विराटनगर, लुम्बिनी र कपिलबस्तुलाई राख्नु रणनीतिक चाल हुनसक्ने भन्दै नेपालले पनि त्यसलाई त्यसै अनुसार जवाफ दिन जरुरी रहेको बताए । उनले भने ‘भविश्यको रणनीति हो की हिजोको कुरा दर्साउन खोजेको हो त्योबारे सचेत हुनुपर्छ ।’
त्यस्तै उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले सिमा विवादको विषय उठाउनै नसक्ने ठोकुवा गरे ।
विश्वमा नै कुनै देशको सरकार प्रमुख अर्को छिमेकी देशमा भ्रमणको लागि जादा त्यसअघि नै छलफलका एजेण्डा पारित हुनुपर्ने नियम भएको स्मरणगर्दै उनले यसपटक प्रधानमन्त्रीको भ्रमणमा यो विषय एजेण्डा मै नभएको उनको जिकिर छ ।
उनले भने ‘दुई देशका प्रतिनिधि मण्डलका सिमा मामिलामा कुनै छलफलको कुनै एजेण्डा नै छैन् । विश्वमा चलिआएको कुनै देशको सरकार प्रमुख अर्को छिमेकी देशमा भ्रमणको लागि जाने छ भने ,छलफल गर्ने बुदाँ पहिले एजेण्डा पारित हुनुपर्छ । प्रधानमन्त्रीले जताततै भन्नु भएको छ सिमा विवादको कुरा उठाउँछु भनेर तर उहाँको एजेण्डामा नै छैन।’
प्रधानमन्त्री प्रचण्डले नेपाल तर्फबाट एजेण्डा लिएर जान नसक्नु नै कमजोरी भएको उनको तर्क छ । नेपालको अस्तित्व भारतको छायाँमा पर्दै जानु दुखद भएको उनले बताए ।