‘मेस्सीले पीएसजीका लागि अन्तिम खेल खेल्दै छन्’

अर्जेन्टाइन सुपर स्टार लियोनेल मेस्सीले यो सिजन समाप्तिपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाड्ने पक्का भएको छ।

यो सिजन लिग वानको उपाधि उचालिसकेको पीएसजीका प्रशिक्षक क्रिस्टोफे गाल्टियरले मेस्सीले क्लबका लागि अन्तिम खेल खेल्न लागेको बिहीबार बताएका छन्।

विश्वविजेता मेस्सीले यही शनिबार लिग वनअन्तर्गत क्लेरमोन्ट फुटविरुद्ध पीएसजीका लागि अन्तिम खेल खेल्ने प्रशिक्षक प्रशिक्षक ग्लाटियरले बताएका हुन्।

‘मलाई फुटबल इतिहासका सर्वश्रेष्ठ खेलाडीलाई प्रशिक्षण दिने सौभाग्य मिल्यो’, उनले भनेका छन्, ‘मलाई लाग्छ यही शनिबार क्लेरमोन्ट फुटविरुद्धको खेल नै पीएसजीबाट मेस्सीका अन्तिम हुनेछ।’

अर्जेन्टिनी कप्तान मेस्सी स्पेनिस क्लब बार्सिलोना छाडेर २०७८ साउनमा फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित भएका थिए।

उनले त्यसबेला पीएसजीसँग २ वर्षको सम्झौता गरेका थिए। त्यसबेला पीएसजीले मेस्सीलाई भित्र्याउँदै च्याम्पियन्स लिग जित्ने योजना बनाएको थियो।

तर अन्य स्टारहरु नेयमार र किलियन एम्बाप्पे हुँदा पनि पीएसजीले च्याम्पियन्स लिग जित्न सकेन। पछिल्लो समय मेस्सी र पीएसजी व्यवस्थापनबीच सम्बन्ध चिसिएको छ।

मेस्सी र पीएसजीबीचको सम्बन्ध करिब सकिएको चर्चाबीच अब उनी फ्रान्सबाट बाहिरिने निश्चित भएको हो। कतार इन्भेस्टमेन्ट कम्पनीको लगानी रहेको पीएसजीले आफ्नो अनुमतिबिना मेस्सी साउदी अरेबिया गएपछि तीन सातालाई निलम्बन गरेको थियो।

निलम्बन सकिएपछि मेस्सी क्लबमा फर्किएका थिए। उनले केही खेल पनि खेले। यसबीचमा पीएसजीले घरेलु लिग वनको उपाधि जितिसकेको छ।

अब शनिबार यो सिजनको अन्तिम खेल खेलेसँगै मेस्सी पीएसजीबाट स्वतन्त्र हुनेछन्।

त्यसपछि उनी पुरानै क्लब बार्सिलोना या साउदी अरेबियन प्रो लिग क्लब अल हिलालमध्ये एकमा जाने चर्चा छ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१