काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बजेटको ठूलो हिस्सा साधारण खर्चमा बढ्दा विकासका लागि श्रोत व्यवस्थापनमा चाप परेको बताएका छन् ।
विहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सांसद चौधरीले बजेटमा गरिएको व्यवस्थाले विकास कार्य द्रूत गतिमा अघि बढ्न सक्दैन ।
उनले भने ‘बजेटको बुँदा नम्बर १९ मा अर्थमन्त्री ज्यूले साधारण खर्चमा वृद्धि हुँदै गएको र तलव भत्ता सामाजिक सुरक्षा वित्तीय हस्तान्तरण प्रशासनिक खर्च लगायतका साधारण खर्च र बढ्दो क्रृण भुत्तानीको दायित्व व्यवस्थापन गर्न १२ खर्ब ८० अर्ब विनियोजन गर्नु परेको बताए । यो रकम कुल बजेटको ७३ प्रतिशत हुन आउछ । कुल बजेटको ठूलो हिस्सा यसरी छुट्याउन पर्दा विकास कार्यका लागि स्रोत व्यवस्थापनमा चाप परेको छ ।’
सांसद चौधरीले १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्न तयार हुँदा यस्ले विकासको नियमित प्रक्रियालाई नै अवरुद्ध पार्ने बताए ।
उनले भने ‘आगामी वर्षको बजेटमा चालु खर्चको अंश ६५ प्रतिशत पुँजी बजेटको अंश केवल १७ प्रतिशत रहेको छ । अर्थात हामी १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्ने तयारीमा छौं । यो भनेको सरासर देश आर्थिक विकासको द्रूत गतिमा बढ्न सक्दैन् भन्ने कुराको आत्म स्वीकार्यता हो । यो अवस्था धेरै वर्षदेखि बाटो विराएको हाम्रो राजनीति,अर्थनीति र कुटनीतिको उपज हो ।’