८४ मा बहुमत ल्याउने देखेपछि दलहरु रास्वपासँग तर्सिएका छन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीविरूद्ध अन्य दलले घेराबन्दी गरिरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आगामी चुनावमा विजयी हासिल गर्ने पक्का पक्की भएपछि अन्य दलले घेराबन्दी गरिरहेको जिकिर गरे ।

उनले भने, ‘तपाईँहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ। हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन् । सातो जाने खालको छ तर हामी डराउँदैनौँ । २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्नेकुरा आम जनताले घरघरमा महशुस गरिसकेका छन् ।’

उनले नेपाली जनताले सोचेको परिवर्तनलाई जनताको भाका टिपेर पार्टीको सुरुवात गरेको टिप्पणी गरे ।

उनले भने,‘यो एक वर्षको यात्रालाई हेर्छु नेपाली जनताले जुन घरघरबाट जुन परिवर्तनको आशा गरिरहेका थिए त्यो आशालाई प्रतिनिधित्व गर्ने दलका रुपमा जनताले सोचेको रुपमा जनताको भाका टिपेर हामीले सुरुवात गरेको जस्तो लाग्छ ।’

उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको औँल्याए ।