कार दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत

प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ।

सोमबार पौने ४ बजे स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीस्थित सडक घुम्तीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो। उक्त दुर्घटनामा ज्यान गुमाउने सबै दाङका हुन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार मृत्यु हुनेमा ११ वर्षीय बालक शिशिर खनालसहित तुलसीपुर- १५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षीय विकास, गढवा गाउँपालिका- ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय छोरा आदित्य शाह र कारचालक लमही नगरपालिका- ५ का ४९ वर्षीय तारा कुमाल छन्।

घोराहीका शिशिर सरिताका साथीको छोरा भएको प्रहरीले जानकारी दिएको छ।

शर्मा र शाहको परिवार घोराही- १० नारायणपुरमा कोठा भाडामा बस्दै आएका थिए। शाह स्थानीय एक फर्निचर उद्योगमा काम गर्थे। सरिताका श्रीमान भने वैदेशिक रोजगारीमा छन्।

स्वर्गद्वारी मन्दिर दर्शन गरी दाङतर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका- ४ भिंग्रीको घुम्तीमा दुर्घटनामा परेको थियो।