काठमाडौं । नेपालले आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम वार्मअप खेलमा ओमानलाई हराएको छ ।
जिम्बावेको हरारेमा बिहीबार भएको खेलमा ओपनर कुशल भुर्तेलको शतकको सहयोगमा नेपालले ओमानमाथि २ विकेट जित निकालेकाे हाे ।
ओमानले दिएको २ सय ६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा ८ विकेट गुमाएर भेट्टायाे ।
नेपालका कुशल भुर्तेलले ९४ बलमा सर्वाधिक १ सय १ रनको शतकीय इनिङ खेले । १ सय १ रन भएको अवस्थामा उनी रिटायर्ड आउट भए ।
पहिलो विकेटका लागि कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर ७१ रनको साझेदारी गरे । शेख २४ बलमा २३ रनमा आउट भए ।
दोस्रो विकेटका लागि भीम सार्की र भुर्तेलले १ सय १५ रनको साझेदारी गरे ।
भीमले ७४ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३१ रन बनाए । कुशल मल्ल १७ रनमा आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलब २ ओभरमा अलआउट भएर २ सय ६७ रन बनायो ।
नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, प्रतिश जि.सीले समान १/१ विकेट लिए ।
विश्वकप छनोट आगामी आइतबारबाट सुरु हुनेछ । विश्वकप छनोटको पहिलो खेलमा नेपालले आइतबार घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।