काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसद साहले प्राधिकरण आम नागरिकप्रति कम उद्योग व्यवसायीप्रति बढी जवाफदेही भएको जिकिर गरे ।
उनले भने ‘ठूलठूला व्यापारिक घरानाहरुलाई सेवा गर्नुहुन्छ । अर्कोतिर गाउँमा मिटर जोड्नुहुन्छ, चेक पनि गर्न जानुहुन्न। समयमा लाइन पनि दिनुपर्दैन । तर दण्ड ठोकी हाल्नुपर्छ । ऊर्जामा झन्डै ६० अर्बजति पैसा छ कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन । वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झण्डै ४० पेजसम्म कुन–कुन पालिकामा कति–कति लाख भनेर छापेर जनतालाई झुक्याउने?यति दुनियाँको इन्ट्रेस्ट भइरहेको ऊर्जा क्षेत्र सांसद जान्नै नहुने ? के छ भित्री कुरा किताव लेख्नै नहुने? शीर्षक अनुसार गतिविधि सांसदहरुले जान्नै नहुने हो?’
सांसद साहले उर्जा क्षेत्रमा छुट्याइएको ६० अर्ब बजेट कहाँ खर्च गर्ने भन्ने स्पष्टरूपमा उल्लेख नभएको दावी पनि गरे ।