एमालेप्रति समाजवादी जिल्ला अध्यक्षको टिप्पणी: विचार शून्य भएको आत्मानुभूति छैन, मोर्चा बनाउनेमाथि औँला ठड्याउन हतारो

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका बागलुङ जिल्ला कमिटी अध्यक्ष लाल थापाले नेकपा एमालेका नेताप्रति कडा टिप्पणी गरेका छन् ।

समाजवादी माेर्चा बनाएकाेमा नेकपा एमालेले औँला उठाएकाे भन्दै उनले एमाले पार्टी आफैँ विचारविहीन झुण्ड भएकाे उल्लेख गरेका छन् ।

उनले आफ्नाे पार्टी विचारविहीन भइरहेकाेमा आत्मानुभुति नगरेकाे र उल्टै समाजवादी मोर्चा निर्माण गर्नेमाथि औँला ठड्याउन हतारो गरेकाे भन्दै टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ‘एकथरि साथीहरूलाई आफू विचार शून्य भएको र आफ्नो पार्टी विचारविहीन झुण्डमा परिणत हुँदै गरेको प्रति आत्मानुभूति छैन, उल्टै समाजवादी मोर्चा निर्माण गर्नेमाथि औला ठडाउन हतारो छ ।’

उनले एमाले नेतालाई समाजवादको भ्रुण बोकेर हिँड्ने हो कि दलाल पुँजीवादको तलुवा चाटेर रमाइलो मानिरहने हो ? भन्दै प्रश्न पनि गरेका छन् ।

‘कष्टप्रद भएपनि समाजवादको मार्ग पहिल्याउन मोर्चा कसेर बस्ने हो कि पार्टीलाई मेलापर्व आयोजक कमिटी जस्तो बनाउने र आफू रामरमिताको रमिते भएर बस्ने हो ? फुट र विघटनमा थप्पडी मारिरहने र जुट्न कोसिस गरेकालाई खिसी गरिरहने हो कि ध्रुवीकरण र एकताको पक्षपोषण गर्ने हो ? यहीबाट वर्ग चरित्र प्रष्ट हुँदैन र!’ उनकाे भनाइ छ ।