मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्चमा

काठमाडौं । आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालत गएका छन् ।

चलाउनेले आफ्नो रिट निवेदनमा सरकारको निर्णय गैरकानुनी र असंवैधानिक भएको दाबी गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् ।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थिए ।

त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो । आचार्यसहित ५ जनाविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको थियो ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ ।