ड्यामबाट खसेको ढुङ्गा लागेर १४ वर्षीय बालकको मृत्यु

काठमाडौ । दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ ।

सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

निमार्णाधीन अवस्थामा रहेको ड्याम वर्षातका कारण भत्किँदा ड्यामबाट खसेको ढुङ्गाले लागेर आठबिस–५ बस्ने बिर्खबहादुर थापाका अन्दाजी १४ वर्षीय छोरा उमेश थापाको बुधबार बेलुका मृत्यु भएको दैलेखका प्रहरीले बताए ।

आठबिस–५ का वडाध्यक्ष बजिरसिंह विकले ड्यामबाट खसेको डुङ्गा लागेर बालकको मृत्यु भएको प्रहरीलाई जानकारी गराए । उनले प्रहरीलाई घटनास्थलसम्म पुग्न समस्या भएको जानकारी दिए ।

ड्याम भत्किँदा अन्य छ जना बालबालिका घाइते भएको वडाध्यक्ष विकले जानकारी दिए । ‘ड्याम भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्, घाइतेमध्ये १३ वर्षका किरण बुढामगर भने गम्भीर अवस्थामा छन्,’ उनले भने ।