आजदेखि प्रदर्शनमा नेपाली फिल्म ‘परस्त्री’ र बलिउड फिल्म ‘सत्यप्रेमकी कथा’

काठमाडौं । आज बिहीबार हलमा एक नेपाली फिल्म र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन् ।

बकर ईदको अवसर पारेर नेपाली फिल्मतर्फ ‘परस्त्री’ र विदेशी फिल्मतर्फ बलिउड फिल्म ‘सत्यप्रेमकी कथा’ प्रदर्शनमा आएका हुन् । सुरज पाण्डे डेब्यू निर्देशित फिल्म ‘परस्त्री’ निर्धारित मितिभन्दा एक दिनअगावै प्रदर्शनमा आएको हो ।

‘परस्त्री’ १५ गतेदेखि प्रदर्शन हुने भनिएको थियो । बलिउड फिल्म ‘सत्यप्रेमकी कथा’ बिहीबार नै प्रदर्शन हुने भएपछि ‘परस्त्री’ टिमले शुक्रबार नकुर्ने बताएका हुन् ।

विवाहोत्तर सम्बन्धले निम्त्याउने समस्यालाई देखाइएको फिल्म ‘परस्त्री’ मा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ ।

यो फिल्म काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो । फिल्ममा शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल फिल्मका लेखकसमेत हुन् ।

समीर विदवान्स निर्देशित फिल्म ‘सत्यप्रेमकी कथा’ मा कार्तिक आर्यन र कियारा आडवानीको मुख्य भूमिका छ । फिल्ममा कार्तिक र कियारासँगै सुप्रिया पाठक कपुर, गजराज राव, सिद्धार्थ रन्धेरिया, अनुराधा पटेल, राजपाल यादवलगायत कलाकारको अभिनय छ । फिल्मको कथा करण श्रीकान्त शर्माले पारेका हुन् ।

फिल्ममा कार्तिक एक गुजराती युवकको भूमिकामा देखिएका छन् । जो आफ्नो विवाहको लागि केटी खोजिरहेका छन् । उनको जीवनमा कियारा आएपछि आउने उतारचढाबलाई फिल्ममा देखाइएको छ ।

फिल्ममा साजिद नाडियाडवाला, शरीन मन्त्री केडिया र किशोर अरोराको लगानी छ ।