कालो झन्डा देखाउनेलाई योगेशले भने – म जस्ता लाखौंले लडेर ल्याएको विरोध गर्ने अधिकारले सार्थकता पायो

काठमाडौं । इलाममा पहिचान पक्षधरले एमाले सचिव योगेश भट्टराईलाई आक्रमणको प्रयास गरेपछि उनले लोकतन्त्रको सङ्घर्षले सार्थकता पाएको बताएका छन् ।

मदन भण्डारी फाउण्डेसन ईलामले ७२ औ मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जाँदै गर्दा ईलामबाजारमा केहि व्यक्तिले उनलाई कालो झन्डा देखाएका थिए ।

भट्टराईले कालो झन्डा देखाउने अधिकार आफूहरु लडेर ल्याएकोमा खुसी व्यक्त गरे । उनले भने् ‘ एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो । आज मलाई कालो झन्डा देखाउनेहरुको अधिकारका लागि म स्वंय र म जस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभुती भएको छ ।’

उनले शान्तिपूर्ण विरोध गर्न आग्रह गरेका छन् । ‘हाम्रो भनाइ यही छ कि बिरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन ।’ भट्राईले भने ।

उनले कोशी प्रदेशको समस्या हल गर्न एमाले तयार रहेको बताएका छन् ।