पूर्वमाओवादी शक्तिहरूबीच एकताको ठोस पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच एकताको ठोस पहल भइरहेको बताएका छन् ।

शनिबार बिहान पोखरामा पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एकताका लागि पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको बताएका हुन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले पार्टी कमजोर हुँदा अहिलेसम्मका परिवर्तन नै कमजोर हुने महशुस गर्दै पूर्वमाओवादीहरूबीचको एकताबारेको छलफललाई बृहत् पारिएको बताए ।

‘हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले पार्टीलाई राम्रो बनाउन नयाँ ढंगले सोचेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको र त्यसलाई सफा नगरी देश नबन्ने पनि जिकिर गरे ।

उनले नवगठित समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने पनि बताए । यसमा पूर्वमाओवादीहरू पनि छलफलमा रहेको र पार्टी एकताकै लागि ठोस पहल अगाडि बढाइने उनको भनाइ छ ।