काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूले बोलेको कुरालाई विक्षिप्त भएका विपक्षीले बबण्डर गर्न खोजेको बताएका छन् ।
बुधबार काठमाडौंको किर्तिपुरमा अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको तेश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको पुस्तकमा रहेका बिषयमा आफूले अभिव्यक्ति दिएपनि विपक्षीले बबण्डर गर्न खोजेको बताए ।
उनले केही दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री प्रचण्डले सिंहले पुस्तकमा लेखिएको बिषयलाई आफूले जस्ताको तस्तै राखेको भएपनि त्यसलाई अतिरञ्जीत गर्न खोजिएको र त्यसले आफुलाई कुनै फरक नपर्ने जिकिर गरे ।
उनले अनावश्यक बबण्डरको बेलुन छिटै फुट्ने जिकिर गरे । सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेकाे भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारको काम देखेर विपक्षीहरु तर्सिएको धारणा राखे । उनले माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्न लागेको र बृहत एकतासहित अगाडि बढ्ने तयारी भइरहेको उल्लेख गरे ।
माओवादीलाई घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी रहेकाले २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरि परिणाम दिनुपर्ने उनले बताए । उनले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुने भन्दै सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरुलाई जनताले ठिक पार्ने उल्लेख गरे ।