काठमाडौं । महत्त्वाकांक्षी चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १० वर्ष पूरा भएको अवसरमा चीनले ‘सिल्क रोडस्टर’ भन्ने नयाँ फोरम स्थापना गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले यस फोरमको स्थापना गरेको हो ।
चीन र दक्षिण पूर्वी एशिया तथा दक्षिण एशियाका राष्ट्रहरुबीच व्यवहारिक समन्वयका लागि यो फोरम स्थापना गरिएको चिनियाँ कम्युनिष्ट पार्टीले बताएको छ । यो फोरममा पाँच महत्त्वपूर्ण परियोजना समेटिएका छन्- सिल्क रोड यात्रा, सिल्क रोड सशक्तिकरण, सिल्क रोड आनन्द, सिल्क रोड उज्यालोपदेश र सिल्क रोड समृद्धि ।
यससम्बन्धी अभियानमा सहभागी हुन काठमाडौँ आइपुगेको चिनियाँ टोलीले बिहीबार भक्तपुरमा एक कार्यक्रम गरेको छ। ‘सिल्क रोडस्टर : जोइन द राइड फर बेटर फ्युचर’ शीर्षकमा गरिएको कार्यक्रममा चिनियाँ टोलीसाथै विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु पनि थिए। नेपालमा सिल्क रोड इम्बार्कमेन्ट र सिल्क रोड इम्पावरमेन्टको कार्यक्रम गर्न चिनियाँ प्रतिनिधिमण्डल नेपाल आइपुगेको हो ।
कार्यक्रममा एमाले, माओवादी, एकीकृत समाजवादी, नेपाल मजदूर किसान पार्टी, नेपाली कांग्रेसलगायतकापार्टीका प्रतिनिधि सहभागी थिए। कार्यक्रममा हजारभन्दा बढी सर्वसाधारण पनि उपस्थित थिए ।
कार्यक्रममा आइडिसिपिसीका काउन्सेलर डु शियालिनले सिल्क रोडस्टरका बारेमा बताएका थिए। नेपाली सर्वसाधारणलाई चिनियाँहरुको समूहले निशुल्क चिकित्सा हेरचाह तथा अन्य सेवा पनि प्रदान गरेका थिए । चिनियाँ पक्षले कार्यक्रममा आएकालाई विभिन्न सामग्री पनि वितरण गरेका थिए। भक्तपुरको कार्यक्रमपछि चिनियाँ टोली बुढानिलकण्ठ पुगेर त्यहाँका बासिन्दाका लागि सौर्य बत्ती जडेका थिए ।