चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले गण्डकी कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

बाँकी तीन प्रदेशहरूमा भने आंशिक बदलि हुनुको साथै एक–दुई स्थानहरूमा हल्का देखि मध्ययम वर्षा हुनसक्ने औंल्याएको हो ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकोले पनि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । सोेमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ–गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

मधेश प्रदेशका थोरै र बाँकी अन्य प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । हाल देशभर आंशिक देखी सामान्य बदली रहेको छ । आज रातीको मौसम देशभर आंशिक देखी सामान्य रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै जुम्लामा १७ दशमलव ३ मिलिमिटर वर्षा भएको छ । पोखरामा १३ मिलिमिटर र दाङको घोराहीमा ६ दशमलव ५ मिलिमिटर वर्षा मापन गरिएको छ ।