कांग्रेस केन्द्रीय समिति बैठक : समसामयिक देखि आन्तरिक १० एजेन्डामा छलफल गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ ।

बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो एक बजेपछि बस्ने गरि बोलाइएको छ ।

कांग्रेसले मंगलबार बस्ने केन्द्रीय समितिको बैठकका लागि सोमबार बसेको दलका शीर्ष नेताहरुको बैठकले, दशवटा एजेन्डा तय गरेको छ ।

कांग्रेसले सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा शीर्ष नेता तथा पूर्व पदाधिकारीहरूको बैठक बोलाएर एजेन्डा तय गरेको हो ।

एजेन्डामा समसामयिक, आर्थिक, राजनीतिक,सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरू र पार्टीको आन्तरिक विषय लगायत १० ओटा विषयमा आजको बैठक केन्द्रीत रहने बैठकपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् ।

महामन्त्री शर्माले पहिलो एजेन्डाको रूपमा साङ्गठनिक कार्य योजना र कार्य तालिका प्रस्तुत गर्नेदेखि कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाकालाई बैठकमा प्रस्तावित गर्ने लगायतका विविध कार्ययोजना रहेको जानकारी गराए ।

गत असार २७ गते झन्डै एक वर्षपछि बस्न लागेको कांग्रेस बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनका कारण आजका लागि सारिएको थियो ।