काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडियाको निर्वाचन अवलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । साउन ७ गते त्यहाँ हुने निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राती त्यसतर्फ गएका हुन् ।
पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमालसहितका टोलीका साथ कम्बोडिया प्रस्थान गरेका ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।
त्यस्तै, उपाध्यक्षसमेत रहेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई कार्यवाहक संसदीय दलको नेताको जिम्मेवारी दिइएको सचिवालयले जनाएको छ ।
एमाले अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्किने छन् । ओली त्यहाँ रहँदा एसियाली पार्टीहरूको सम्मेलनसहित विभिन्न भेटघाटमा सहभागि हुने उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।