काठमाडौं । एसिया कप क्रिकेट खेल्न लागेको नेपालले श्रीलंकामा तयारी गर्ने भएको छ ।
पहिलो पटक एसिया कप खेल्न लागेको नेपाली क्रिकेट टोली श्रीलंकामा १५ दिन तयारी गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
‘नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलंकामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गर्दैछौं’, क्यानले भनेको छ ।
उक्त समयमा नेपाली खेलाडीले कडा प्रशिक्षण लिने र अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा श्रीलंकनडेभलपमेन्ट टिमसँग चार अभ्यास खेल खेल्ने समेत क्यानले जनाएको छ ।
राम्रो टिम विरुद्ध खेल सुनिश्चित गर्न सहयोग गरेकोमा क्यानले श्रीलंका क्रिकेटलाई धन्यवाद दिएको छ । एसिया कप क्रिकेट आगामी अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ ।
नेपालले पाकिस्तानसँग पाकिस्तानको मुल्तानमा अगष्ट ३० मा खेल्नेछ भने भारतसँग श्रीलंकाको क्यान्डीमा सेप्टेम्बर ४ मा खेल्नेछ ।